धनुषा : धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि गरिएको ठेक्कामा करिब ६ करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसदसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले २४ करोड ४३ लाख रुपैयाँको ठेक्का आयोजना गर्दा सबैभन्दा कम रकम दिने कम्पनी ‘प्रतिष्ठा/धुलिखेल जेभी’ लाई प्राविधिक अयोग्य भन्दै पाखा लगाई बढी रकम दिने ‘लुम्बिनी बिल्डर्स जेभी’ लाई ठेक्का दिइएको थियो।
अख्तियारले यसलाई गैरकानुनी र भ्रष्टाचारको कारबाहीको विषय मान्दै तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर, र नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरलाई मुख्य प्रतिवादी बनाएको छ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरू, इन्जिनियर, खरिदार र ठेकेदार कम्पनीका प्रबन्धकहरू पनि मुद्दामा परेका छन्।
प्रतिक्रिया