काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा नेपालले १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स प्राप्त गरेको छ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो। वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषण भित्रिएको छ।
रेमिट्यान्सको वृद्धि दर अघिल्लो वर्षको सोही अवधिमा १६.९ प्रतिशत थियो। अमेरिकी डलरमा हेर्दा चालु वर्षको रेमिट्यान्स १०.५ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, देशको कुल विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ, जुन १४.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त मानिन्छ। यो सञ्चिति गत वर्षको अन्त्यमा १५ अर्ब २७ करोड डलर थियो, जसअनुसार सञ्चिति २०.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
राष्ट्र बैङ्कको तथ्यांकअनुसार २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँको सञ्चिति राष्ट्र बैङ्कसँग र ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ अन्य बैङ्क तथा वित्तीय संस्थासँग छ। सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.२ प्रतिशत छ।
यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१.१ प्रतिशत, कुल आयातको १२१.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३.८ प्रतिशत बराबर रहेको छ।
समीक्षा अवधिमा विस्तृत मुद्रा प्रदाय ६.६ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा ११.४ प्रतिशतको वृद्धि देखिएको छ।
बैङ्क तथा वित्तीय संस्थाले निक्षेप ६.२ प्रतिशतले र निजी क्षेत्रलाई कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि गरेका छन्। वार्षिक बिन्दुगत आधारमा क्रमशः ११.४ प्रतिशत र ८.४ प्रतिशतको वृद्धि देखिएको छ।
उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ। शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले सकारात्मक देखिएको छ।
वैशाखसम्म आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ। सरकारले ११ खर्ब ५७ अर्ब ८९ करोड खर्च गर्दा ९ खर्ब २२ अर्ब ४३ करोड राजस्व सङ्कलन गरेको छ।
सरकारी खातामा ३ खर्ब ६० अर्ब ९८ करोड नगद मौज्दात रहेको छ, जुन अघिल्लो वर्षको ९३ अर्ब ९६ करोडभन्दा धेरै हो।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ५ करोडभन्दा उल्लेखनीय वृद्धि हो।
प्रतिक्रिया