काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा उठेका सस्ता बहसहरूले एमाले र यसको नेतृत्वलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
रिजालले अहिलेको जटिल परिस्थितिमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूसँगभन्दा बढी सिट ल्याएको पार्टीसँग मिलेर देशको नेतृत्व गरिरहेकाले उहाँको नेतृत्वलाई थप हौसला दिनुपर्ने समय रहेको उनको भनाइ छ।
रिजालले सामाजिक सञ्जालमार्फत लेख्दै अहिले न महाधिवेशनको समय हो न त नेतृत्व परिवर्तनको सन्दर्भ नै रहेको अवस्थामा उमेर सीमा र कार्यकालबारे बेमौसमी बहस गर्नु कुनै कोणबाट उचित नहुने धारणा राखे ।
पछिल्लो समय एमालेभित्र अध्यक्षको उमेर हद ७० वर्ष र कार्यकाल दुईपटक मात्रै हुनुपर्ने प्रस्तावहरू सार्वजनिक बहसको विषय बनेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियतासँगै यस्ता विषय उठ्न थालेपछि पार्टी कार्यकर्ताबीच अन्योलता देखिएको छ। रिजालले यस्तो चर्चाले पार्टीको एकता र निर्माण प्रक्रियामा असर पार्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया