नक्कली कागजात प्रयोगकर्तालाई अब अध्यागमनबाटै रोकिने प्रणालीको विस्तार

विहीबार, ०१ साउन २०८२

काठमाडौं : अध्यागमन कार्यालयले अध्यागमन सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै श्रम स्वीकृति र शैक्षिक स्वीकृति(एनओसी) विवरण सोही प्रणालीमा जोडिएको जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै अबदेखि केवल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी श्रम स्वीकृति र शिक्षा मन्त्रालयबाट जारी एनओसी प्रणालीमै देखिने यात्रुहरूलाई मात्र प्रस्थान अनुमति दिने जानकारी दिएको हो ।

अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ,‘यस प्रणालीले नक्कली श्रम स्वीकृति तथा नक्कली एनओसी बनाएर विदेश जान खोज्ने प्रयासहरूलाई रोकिने अपेक्षा गरिएको छ ।’

साथै सूचना मार्फत विभिन्न व्यवसायमा संलग्न ट्राभल एजेन्सी, टूर अपरेटर, होटल व्यवसायी, वैदेशिक रोजगार व्यवसायी, स्वास्थ्य परीक्षणकर्ता, अभिमुखीकरण तालिम प्रदायक, परामर्शदाताहरू, भाषा प्रशिक्षक, एयरलाइन्ससँग सम्बन्धित कर्मचारी लगायत सबै सरोकारवालाहरूलाई स्वच्छ र जिम्मेवार व्यवसायको अभ्यास गर्न अनुरोध गरिएको छ ।

यसैबीच, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाहलाई सहज बनाउन अध्यागमन सूचना प्रणाली सञ्चालनका लागि नयाँ स्थानीय डेटा सेन्टर थापना गरिएको छ ।

यस कदमले केन्द्रीय सर्भरमा आउने समस्या तथा प्रणाली डाउन हुने अवस्था अन्त्य हुने र ब्ल्याकलिस्टमा परेका व्यक्तिहरूले समेत प्रस्थान अनुमति लिने त्रुटिपूर्ण अवस्था सुधार हुने जनाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार