विराटनगर : नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि शेरबहादुर देउवाको विश्वासपात्र मानिएका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गुट फेरेको सङ्केत गरेका छन् । बुधवार बिहान विराटनगरको डा. शेखर कोइरालाको निवासमा पुगेर खाँणले आफ्नो राजनीतिक झुकाव बदलिएको सन्देश दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि जेलसम्म पुगेका खाँण पछिल्ला महिनाहरूमा पार्टी सभापति शेरबहादुर देउवासँग चिढिएका थिए । यसैक्रममा बुधवार उनी कांग्रेस इतर समूहका नेता शेखर कोइरालाको निवासमा पुगेका हुन् । कोइरालाको घरमा उपस्थित भए लगत्तै उनले पत्रकार सम्मेलनसमेत गरे ।
खाँणको यो उपस्थितिलाई काङ्ग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समय देउवा समूहको नेतृत्व तहमा रहेका खाँणको कोइराला निवासमा देखिएको सक्रियतालाई अब काँग्रेसको आन्तरिक समीकरणमा नयाँ मोड आउन सक्ने सङ्केतका रूपमा हेरिएको छ । पत्रकार सम्मेलनमा खाँणले प्रत्यक्ष गुट परिवर्तनको घोषणा नगरे पनि उनका हाउभाउ, शब्द चयन र कोइरालाप्रति प्रकट सम्मानले सङ्केत पर्याप्त दिएका छन् ।
खाँणले पत्रकारसँग भने, ‘यो निवास कुनै गुटको होइन, यो त साझा पवित्र स्थल हो । यहाँ बीपी, गिरिजा र कृष्णप्रसाद कोइरालाको स्मृति छ । उहाँहरू हाम्रो लागि महामानव हुनुहुन्छ ।’ उनका अनुसार यो स्थान कुनै एउटा नेताको होइन, समग्र काँग्रेसको ऐतिहासिक केन्द्र हो । उनले गुटभन्दा माथि उठेर कांग्रेस बलियो बनाउनु जरुरी रहेको बताए ।
खाँण पछिल्लो समय देउवा नेतृत्वप्रति खुलेर असन्तुष्ट हुँदै आएका छन् । उनी आफैँले पटक–पटक ‘सभापतिका कारण आफू राजनीतिक हमलामा परेँ’ भन्ने आशयका अभिव्यक्ति दिँदै आएका छन् । भुटानी शरणार्थी काण्डमा पक्राउ परेपछि उनले सार्वजनिक रूपमा खासै प्रतिक्रिया दिएका थिएनन् । तर, जेलमुक्त भएपछि उनले देउवाप्रति असन्तुष्टि पोख्न थालेका हुन् ।
खाँणले पत्रकार सम्मेलनमा काङ्ग्रेसभित्र अनुशासनको नाममा हुने कारबाही पक्षपातपूर्ण हुन नहुने कुरामा जोड दिए । उनले भने, ‘जिम्मेवार पार्टी नेतृत्वले कारबाही गर्नुपर्छ । तर, त्यो निष्पक्ष र न्यायसङ्गत हुनुपर्छ ।’
उनले कांग्रेस कमजोर भयो भने त्यसको असर केवल पार्टीमा मात्रै नभएर सिङ्गो लोकतान्त्रिक प्रणालीमा पर्ने बताए । उनले संविधान र संस्थागत लोकतन्त्र जोगाउन काँग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।
कांग्रेस नेता शेखर कोइरालाको पक्षले भने खाँणको उपस्थिति स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएको छ । कोइराला समूहका एक नेताले भने, ‘खाँणजस्तो प्रभावशाली नेता हाम्रो धुरीमा आउँदा काङ्ग्रेसभित्र नयाँ सन्तुलन बन्नेछ ।’
खाँणको कोइराला निवासमा उपस्थिति र पत्रकार सम्मेलन काङ्ग्रेसभित्र लामो समयपछि सार्वजनिक रूपमा देखिएको ‘गुटीय हस्तान्तरण’ हो । यसअघि पनि काँग्रेसमा गुट परिवर्तन हुन्थे । तर, त्यस्ता गतिविधि प्रायः भित्री तहमा सीमित रहन्थे । खाँणको सक्रियता भने खुला रूपमा आएको छ । जसको असर आउँदो महाधिवेशनको समीकरणमा पनि पर्न सक्ने देखिएको छ ।
यता देउवा पक्ष भने खाँणको उपस्थितिलाई सामान्य भनी सार्वजनिक टिप्पणी गर्नबाट बचिरहेको छ । तर, भित्रभित्रै खाँणप्रति असन्तुष्टि बढेको र उनले गुट परिवर्तनको सङ्केत गरेको नेताहरू बताउँछन् ।
अहिलेको राजनीतिक परिवेशमा काङ्ग्रेसभित्र नयाँ ध्रुवीकरणको सम्भावना बलियो बन्दै गएको छ । एकातिर कोइराला समूह आफ्नो प्रभाव विस्तारमा जुटिरहेको छ भने अर्कातिर देउवा समूह पुराना अनुयायी गुमाउँदै जान थालेको देखिन्छ । खाँणको पछिल्लो भूमिकाले काङ्ग्रेसभित्रको शक्ति सन्तुलनमा ठुलो तरङ्ग ल्याउने नेताहरूको भनाइ छ ।
कोइराला निवासमा खाँणको उपस्थितिसँगै परिस्थितिजन्य सङ्केत र वक्तव्यलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयभित्रै उनले गुट परिवर्तनको घोषणा गर्ने नेताहरू बताउँछन् ।
प्रतिक्रिया