पाशुपत क्षेत्रको जग्गा जथाभाबी भाडामा दिएको गुनासो, ऐतिहासिक जात्रामा अवरोधको खतरा

विहीबार, ०१ साउन २०८२

काठमाडौँ : हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर रहेको पाशुपत क्षेत्रको जग्गामा जथाभाबी मेला, यज्ञ, महायज्ञ वा कोटिहोम सञ्चालन गर्न दिएकोप्रति सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।

श्रावण महिनामा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको भीड लाग्ने साथै बोल बम यात्रामा देश विदेशबाट मानिसहरू आउँदा भीड व्यवस्थापनमै सकस भइरहेका बेला जथाभाबी जग्गा भाडामा दिँदा थप समस्या हुने गरेको उनीहरूको भनाइ छ । 

पाशुपत क्षेत्रमा हाल ‘श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ–२०८२’,‘ ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ’लगायत अन्य केही कार्यक्रमहरू सुरु भएका छन् । जहाँ हजारौँ भक्तजनहरूको भीड बढिरहेको छ । 

महायज्ञ जस्ता ठुला कार्यक्रमहरू श्रावण महिनाकै लागि भनेर पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको जग्गा भाडामा दिइसकेको छ । सोही विषयलाई लिएर सरोकारवालाहरूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले ऐतिहासिकता जोगाउन र जात्रा पर्व सञ्चालनका लागि वातावरण सहज बनाइदिन आग्रह समेत गरेका छन् । काठमाडौँ महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाध्यक्ष आशामान सङ्गतलाई ध्यानाकर्षण पत्र बुझाएर सहजीकरण गरिदिन माग गरेका छन् । 

पशुपति सृजनशील युवा क्लबका अध्यक्ष सुमन डङ्गोलको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहित बुद्धिजीवीहरूले पशुपति क्षेत्र विकास कोषले मनोमानी रूपमा विभिन्न सङ्घ संस्थाहरूलाई भाडामा स्थान उपलब्ध गराएर पशुपतिनाथ क्षेत्र कुरूप पारेको र जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

स्थानीयहरूले, पशुपति क्षेत्र विकास कोष व्यक्तिगत स्वार्थका लागि मनोमानी रूपमा विभिन्न संघसंस्थाहरूलाई स्थान उपलब्ध गराई पैसा असुलीको अखडाको रूपमा अगाडि बढिरहेको बताएका छन् ।

पाशुपत क्षेत्रमा साउन महिनामा हुने भिडभाड एवं स्थानीय ऐतिहासिक जात्रा पर्वहरू गुँला पर्व, गाईजात्रा, खड्ग जात्रा र रोपाइँ जात्रा लगायतका पर्वहरू साउन महिनामा नै पर्ने हुनाले ऐतिहासिक जात्रा पर्वहरू सञ्चालनमा समस्या हुनेगरी कोषले विभिन्न सङ्घ संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न स्थान उपलब्ध गराउँदै जात्रा पर्व सञ्चालनमा अवरोध उत्पन्न गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

स्थानीयहरूले, काठमाडौँ महानगरपालिका वडा ८ का वडाध्यक्ष आशामान सङ्गतलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्ता कार्यहरूले पाशुपत क्षेत्रको ऐतिहासिक डगमगाउनुका साथै स्थानीय जात्रा पर्व सञ्चालनमा समेत समस्या हुने बताएका छन् । 

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा ८ का वडाध्यक्ष आशामान सङ्गतले, स्थानीय जात्रा पर्वहरू सञ्चालनका लागि कसैले पनि अवरोध पुर्‍याए त्यो सह्य नहुने बताएका छन् । 

सङ्गतले, ऐतिहासिक जात्रा पर्वहरूलाई निरन्तरता दिनु आवश्यक रहेको परिप्रेक्ष्यमा व्यक्तिगत स्वार्थका लागि कुनै पनि सङ्घ संस्थालाई आधिकारिक संस्थाले स्थान भाडामा दिनु उपयुक्त नरहेको बताएका हुन् ।

वडाध्यक्ष सङ्गतले, पशुपति क्षेत्रमा विकास कोषले मनोमानी गरिरहेको परिप्रेक्षमा यसको समस्याको समाधान गरी यथोचित रूपमा अगाडि बढ्ने बताए ।

त्यस्तै, स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै यस्ता अनैतिक कार्यहरू तत्कालै रोक्न माग गरेका छन् । उनीहरूले हाल निर्माण भइरहेका पन्डालहरू तथा विभिन्न कामहरू नरोकिए स्थानीयहरू त्यसको प्रतिवादमा उभिने जनाएका छन् । 

ऐतिहासिक जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध पुग्नेगरि यसरी विभिन्न संघसंस्थाहरूलाई व्यक्तिगत स्वार्थ बाझिने गरी भाडामा स्थान उपलब्ध गराउनु तथा स्थानीय तह वडासँग कुनै पनि समन्वय नगर्नु न्यायोचित नहुने बताएका छन् । 

यसैगरी पशुपति विकास कोषका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशीले नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै कोर क्षेत्रमा भाडामा दिने कार्य स्वाभाविक नरहेको बताए । उनले कुनै पनि कार्यक्रम गर्दा पशुपति क्षेत्रको गरिमा र मापदण्ड विपरीत नहोस् भन्नेमा कोष सचेत रहेको बताए ।

उनले भने, ‘हामीसँग बहाल निर्धारण समिति छ । जसले मूल्य निर्धारण गर्छ ।  कार्यक्रम गर्दा पशुपति क्षेत्रको गरिमा र मापदण्ड विपरीत नहोस् भन्नेमा हामी सचेत छौँ । तर कतिपय स्थानमा स्थानीय र कोषबिच समन्वय अभाव हुँदा द्वन्द्वजस्तो अवस्था देखिन्छ । यसलाई मिलाएर लैजान आवश्यक छ ।’

साथै उनले भने, ‘जात्रा सञ्चालन गर्न अनुमति लिनुपर्छ अनुमति दिन सकिने ठाउँ निर्धारण समिति हेर्छ । कोषको ऐन र कानुनअनुसार काम गर्छौँ । जात्रापर्व हाम्रो पहिलो प्राथमिकता हो, त्यसमा कुनै बाधा आउनुहुँदैन ।’

जोशीले, आफूपनि कुनै पनि हालतमा पाशुपत क्षेत्रको कोर परिसर भाडामा लगाउन नहुने पक्षमा रहेको बताए । 

साउन महिनाभर पशुपति क्षेत्रमा श्रद्धालुहरूको भिडभाड, धार्मिक अनुष्ठान तथा ऐतिहासिक जात्राहरू सञ्चालन हुने भएकाले व्यवस्थापनमा कोष गम्भीर हुनुपर्ने स्थानीयहरूको भनाइ छ ।

पाशुपत क्षेत्रमा साउन महिनामा विभिन्न जात्रा पर्व मेलाहरू हुने गर्दछन् । यसैलाई मध्यनजर गर्दै श्रद्धालुहरूको भिडभाड लाग्ने हुँदा पशुपति क्षेत्र विकास कोष यसको व्यवस्थापनतर्फ अग्रसर हुन आवश्यक देखिने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार