गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान

बुधबार, ०५ कार्तिक २०८२

काठमाडौँ : गाई, गोरु र अन्य पशु–पक्षीको पूजा पनि प्रकृति पूजक परम्परासँग सम्बन्धित छ। गाई र गोरुको पूजा कृषि, जीविकोपार्जन र धार्मिक कर्मसँग जोडिएको छ।

गाईलाई हामीले लक्ष्मी माता र आमाको स्वरूप वा पोषण दाताको स्वरूपको रूपमा पनि पूजा गर्ने गर्दछौँ। किनभने गाईको दूध पान गर्दा शरीरमा ऊर्जा उत्पन्न हुने गर्दछ। गाईको अगाडि–पछाडि सम्पूर्ण ब्रह्मा, विष्णु र महेश्वर जस्ता भगवानहरू रहने भएकाले यसलाई गौ माताको रूपमा मानिन्छ।

हिन्दु धर्म, संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छर आवश्यक रहेको छ। साथै, जुनसुकै कर्म गर्दा पनि गाईको गौदान गर्ने प्रचलन रहेको छ। त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ।

गाईको त दैनिक रूपमा पनि पूजा–पाठ गर्ने परम्परा रहेको छ। तर पनि विशेषगरी कार्तिक कृष्ण औँसी वा कुनै समय–तिथिका कारण शुक्ल प्रतिपदाका दिनहरूमा पनि गौ माताको पूजा गरिन्छ।

लक्ष्मीपूजाको दिन माता लक्ष्मीको आराधना गरिन्छ। यस दिन घर–आँगनमा दीप प्रज्वलन गरिन्छ र सम्पत्ति, सुख र समृद्धिको कामना गरिन्छ।

धनत्रयोदशीको दिन पुराण अनुसार लक्ष्मी माताको कृपाले स्वर्गबाट अमरावती र कुबेरसँग भएको सम्पत्ति फिर्ता ल्याइएको थियो। त्यसैले सुन, चाँदी, धातु र अन्य मूल्यवान् वस्तु किन्न र पूजा गर्ने चलन छ।

गोरुलाई पनि अन्न दाताको रूपमा पूजा गर्ने प्रचलन रहेको छ। कृषिप्रधान देश भएकाले हामी हलो जोत्न पनि गोरुको प्रयोग गर्ने गर्दछौँ।

वर्षभरि जोतेको गोरुलाई यस दिन खुरमा तेल लगाउने, सिङमा रङ्ग लगाउने, शरीरमा बेसार र तिलको छाप लगाउने, माला लगाउने र मिठो अन्न खान दिइने प्रचलन परापूर्वकालदेखि हालसम्म रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार