इटहरी : आजदेखि सुरु भएको आर्थिक वर्ष २०८२/८३ को बजेट समयमै पारित हुन नसक्नुमा नगर प्रमुख हेमकर्ण पौडेलकै लापरवाही र असंवेदनशीलता जिम्मेवार रहेको आरोप नेकपा एमाले इटहरीले लगाएको छ।
उपप्रमुख तथा एमाले नेतृ संगीता कुमारी चौधरीद्वारा जारी विज्ञप्तिमा नगर प्रमुख पौडेलले अनुसूचीबिनै विनियोजन विधेयक पेश गरी बजेटलाई मनोमानी शीर्षकमा खर्च गर्दै दुरुपयोग गर्ने गरेको आरोप लगाइएको छ। यसै कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु समेत देखिएको उल्लेख गरिएको छ।
चौधरीका अनुसार पटक–पटक अनुरोध गर्दा पनि वडा, शाखा, शिक्षा महाशाखाबाट बजेट विवरण (अनुसूची) नआएकाले विनियोजन विधेयक तयार गर्न नसकिएको र सभामा पेश गर्न असमर्थ हुनुपरेको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र नीति तथा कार्यक्रम सभामा पेश हुनुपर्ने कानुनी व्यवस्था भए पनि नगर प्रमुखले कार्यपालिकाको बैठकसमेत समयमा नबोलाएको एमालेको आरोप छ। यसकै कारण नीति तथा कार्यक्रम असार १० मा हतारमा सभामा पेश गरिएको थियो।
एमालेका अनुसार, त्यसपछि पटक–पटक सभा स्थगित गरिँदा अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन सकेन।
विगतमा पनि अनुसूचीबिनै बजेट पारित गरिएको र त्यसले महालेखा परीक्षकको प्रतिवेदनमा गम्भीर बेरुजु देखिएको स्मरण गराउँदै चौधरीले यसपटक पुनः त्यही गल्ती नगरिएको स्पष्ट पारेकी छन्।
विज्ञप्तिमा उपप्रमुखसहित एमाले पक्षका नगरसभा सदस्यहरू बजेट पास गर्न संवेदनशील र जिम्मेवार रहेको उल्लेख गर्दै नगर प्रमुखको तत्परतामै बजेट निर्माण सम्भव हुने बताइएको छ।
इटहरी उपमहानगरपालिकामा पछिल्ला वर्षहरूमा पनि बजेट निर्माण र पारित प्रक्रियामा विवाद हुँदै आएकोमा यसपटक पनि असहमतिका कारण बिहीबारदेखि नगरसभा बजेटविहीन बनेको हो।
यसैबिच बजेट होलिडे भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले आफूले प्रयोग गरेको गाडी बुझाएका छन् । उनले सरकारी सुविधा नलिने घोषणा समेत गरेका छन्
प्रतिक्रिया