काठमाडौँ : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठक (सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबिच) को सिफारिसमा मन्त्रालयले यो नयाँ दर लागू गर्ने निर्णय गरेको हो।
नयाँ पारिश्रमिक २०८२ साउन १ गते (१७ जुलाई २०२५) बाट लागू हुनेछ। यो भन्दा अगाडि श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो। अब यो २ हजार २५० रुपैयाँले बढेको हो।
नयाँ दर अनुसार श्रमिकको आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ र महँगी भत्ता ७ हजार ३ सय ८० रुपैयाँ हुनेछ। दैनिक ज्याला ७५४ रुपैयाँ कायम हुनेछ भने प्रतिघण्टा पारिश्रमिक १ सय १ रुपैयाँ हुनेछ। आंशिक समय काम गर्ने श्रमिकका लागि प्रतिघण्टा १ सय ७ रुपैयाँ दर तोकिएको छ।
श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ। मूल्यवृद्धि, आर्थिक सूचक,र श्रमिकको जीवनस्तर सुधारका लागि आधार मानेर पारिश्रमिक वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।
तर,चिया बगानमा कार्यरत श्रमिकका लागि भने यो दर लागू हुने छैन। ती श्रमिकका लागि छुट्टै बैठक बसेर पारिश्रमिक निर्धारण गरिने जनाइएको छ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक बाहेक श्रमिकले सामाजिक सुरक्षा ऐनअनुसारका अन्य सुविधा—श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान—पाउने व्यवस्था यथावत् रहनेछ। स्थानीय तहहरूले पनि तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्नेछ।
प्रतिक्रिया