नेपाल युवा उद्यम मञ्च सुनसरीद्वारा कलेजस्तरीय बिजनेस आइडिया प्रतियोगिता सम्पन्न

विहीबार, २९ जेठ २०८२

इटहरी: युवा उद्यमशीलताको प्रवर्द्धन तथा स्वरोजगार सृजनाको अभिप्रायले नेपाल युवा उद्यम मञ्च, सुनसरी च्याप्टरद्वारा आयोजित कलेजस्तरीय बिजनेस आइडिया प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा इटहरी र धरान क्षेत्रका ७ वटा प्रमुख कलेजका छात्रछात्राहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिताका क्रममा सहभागी विद्यार्थीहरूले सम्भावित बजार, वित्तीय पूर्वानुमान, रणनीति निर्माण, ग्राहक लक्ष करण, सेवा उत्पादनको भौतिक तथा डिजिटल स्वरूप, नवप्रवर्तनको सम्भावना र दीर्घकालीन व्यवसायीकरण रणनीति लगायतका बहु आयामिक पक्षबारे आफ्नो व्यावसायिक सोच प्रस्तुत गरेका थिए।

प्रस्तुत प्रस्तावहरूमध्ये उत्कृष्ट ठहरिएको योजना प्रस्तुत गर्ने टोली इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरू घोषित भए। विजेता टोलीमा सिम्रन श्रेष्ठ, अनिरजंग थापा, मनोज गौतम तथा अनमोल पौडेल रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी थिए भने विशिष्ट अतिथिमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली तथा नेपाली युवा उद्यमी मञ्च, सुनसरी च्याप्टरका अध्यक्ष सिद्धार्थ श्रेष्ठ थिए। उनीहरूले विजेता टोलीलाई व्यवसाय सुरु गर्न प्रारम्भिक 'बीउ पूँजी' स्वरूप रकमको पहिलो किस्ता हस्तान्तरण गरे।

WhatsApp Image 2025-06-12 at 20.08.55

मन्त्री भण्डारीले नवप्रवर्तनशील सोच, लगनशीलता र युवाको ऊर्जालाई राष्ट्र निर्माणको मेरुदण्डको रूपमा व्याख्या गर्दै, “युवाहरूलाई उचित मार्गदर्शन र अवसर प्रदान गर्न सकेमा स्वदेशमै रोजगारी सिर्जना हुँदै समृद्ध नेपालको आधार तयार हुन्छ,” भन्ने धारणा व्यक्त गरे।

युवा उद्यम मञ्चका अध्यक्ष सिद्धार्थ श्रेष्ठले यस्ता कार्यक्रमहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न र उद्यमशीलतामार्फत आत्मनिर्भरता हासिल गर्न युवाहरूलाई प्रेरित गर्ने माध्यम भएको बताए। अध्यक्ष पराजुलीले रोजगारी खोज्ने भन्दा सिर्जना गर्ने सोचलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको भन्दै उद्यमशीलताको विस्तारमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नेपाली युवा उद्यमी मञ्च, सुनसरी च्याप्टरले ४० वर्षमुनिका युवाहरूलाई लक्षित गरी व्यावसायिक तालिम, अन्तरक्रिया कार्यक्रम, लर्निङ सेसन, रक्तदान, राहत वितरण तथा खेलकुद र शैक्षिक सामग्री वितरणजस्ता विविध कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको छ।

उक्त प्रतियोगिता मार्फत युवा वर्गमा आफ्नै व्यावसायिक अवधारणाको विकास र व्यवहारिक प्रयोगमार्फत स्वरोजगार सिर्जना गर्ने सकारात्मक सन्देश प्रवाह भएको आयोजकहरूको विश्वास छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ संस्थागत बनाउँदै युवा उद्यमशीलता प्रवर्द्धनमा दीर्घकालीन रणनीति अवलम्बन गरिने मञ्चले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार