चाँगुनारायण नगरपालिकामा आर्थिक अनुशासनको चरम उल्लङ्घन

शुक्रबार, ३० जेठ २०८२

भक्तपुर : चाँगुनारायण नगरपालिकाले वित्तीय अनुशासनको गम्भीर उल्लङ्घन गर्दै करोडौँ रुपैयाँ अनियमित र अपारदर्शी ढङ्गले खर्च गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ। पालिकाले कानुनी मापदण्ड र सार्वजनिक लेखा प्रक्रियाको अवहेलना गर्दै नगर सरकार सञ्चालन गरेको तथ्य प्रतिवेदनमा छर्लङ्ग देखिन्छ।

रकमान्तर र खर्चमा अपारदर्शिता

महालेखा अनुसार नगरपालिकाले ३० करोड ८० लाख ३६ हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरी खर्च गरेको छ, तर यस्ता खर्चहरू प्रभाव मूल्याङ्कनबिना र प्रमाणीकरणबिनै गरिएको पाइयो।

मापदण्डविनै सहायता र अनुदान वितरण

२० लाख रुपैयाँ बराबरको सहयोग रकम १८५ जनालाई कार्यविधिबिनै ५ हजारदेखि २ लाखसम्म बाँडिएको देखिएको छ। यस्ता वितरणमा न त सार्वजनिक सूचना जारी गरिएको छ, न त आवश्यकता मूल्याङ्कन गरिएको छ।

यस्तै, आठ वटा नाफामूलक संस्थालाई कृषि अनुदान दिइएको छ, जसको कुनै स्पष्ट आधार वा प्रभाव मूल्याङ्कन छैन। स्थानीय शासनको मर्म विपरीत यस्तो सहायता वितरणले नगर सरकारको जबाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।

राजस्व सङ्कलन र कर प्रणालीमा लापरबाही

पालिकाले आन्तरिक राजस्व सङ्कलनमा कमजोरी देखाएको छ। व्यवसायीहरूको अभिलेख अद्यावधिक नगरिएको हुँदा करयोग्य व्यक्ति तथा व्यवसाय पहिचानमै आउन सकेका छैनन्।

नगरपालिकाको ३२ सटरमध्ये ५ वटा सटरवालाले ६ लाख ७४ हजार रुपैयाँभन्दा बढी रकम दाखिला नगरेको पाइएको छ। यस्तो अवस्थाको न त क्षमादान गरिएको छ, न कुनै वैधानिक निर्णय लिइएको छ।

सार्वजनिक खरिद ऐन उल्लङ्घन

फोहोरमैला व्यवस्थापनको ठेक्का निजी कम्पनीलाई प्रतिस्पर्धाबिनै दिइएको छ, जुन सार्वजनिक खरिद ऐनको स्पष्ट उल्लङ्घन हो। २० वटा डिपिआर तयार गर्न मात्रै १ करोड ३५ लाख रुपैयाँ खर्च भएको देखिन्छ भने ४ वटा परामर्श सेवामा २४ लाख रुपैयाँ खर्च भएको छ,तर यस्ता सेवाको औचित्य पुष्टि हुने प्रमाण छैन।

कर्मचारी नियुक्ति र भत्तामा अनियमितता

पालिका प्रशासनले सुपरभाइजर, सरसफाइकर्मी, हलुका सवारी चालक, कुचीकारलगायत १० जनालाई नियम विपरीत ज्यालादारीमा नियुक्त गरेको देखिएको छ।

त्यस्तै, बिदाको दिन बाहेक पनि बिदा भत्ता दिइएको, नगर प्रमुखको सिफारिसमा पोसाक खर्च गरिएको, नगर सभामा २३ लाख रुपैयाँ प्रोत्साहन र खाजा भत्ता हाजिरीबिना वितरण गरिएको छ।

कार्यक्रम र भ्रमणमा अनावश्यक खर्च

सेमिनार, गोष्ठी र तालिमजस्ता कार्यक्रमका लागि मापदण्डभन्दा बढी खर्च गरिएको छ। नगरपालिकाको आफ्नै हल उपलब्ध हुँदाहुँदै बाह्य होटेलहरू प्रयोग गरिएका छन्। भ्रमण शीर्षकमा मात्रै ३७ लाख २४ हजार रुपैयाँ खर्च गरिएको छ।

खेलाडी जर्सी वितरणमा समेत गम्भीर त्रुटि

२०१ जनालाई वितरण गरिएको भनिएको खेलाडी जर्सीमा कतिपय नाम दोहोरिएका छन् भने हस्ताक्षर पनि एउटै देखिएको छ, जसले वितरण प्रक्रिया फितलो र अविश्वसनीय भएको पुष्टि गर्छ।

मेयरको जवाफ

महालेखाको प्रतिवेदनमाथि प्रतिक्रिया दिँदै नगर प्रमुख जीवन खत्रीले प्रतिवेदनमा उल्लेख गरिएजस्तो गम्भीर अनियमितता नभएको दाबी गरे। ‘प्रशासनिक प्रक्रियामा केही हतारिएको वा आवश्यकता देखिएको अवस्थामा नियम नपुगेको हुन सक्छ’, उनले भने, ‘तर हामी त्यसलाई सच्याउनेछौँ।’ उनले अनियमितता भएमा कारबाही हुने र भविष्यमा प्रक्रिया पालना गरेर मात्र निर्णय लिइने बताए।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार