नाम चलेको लहानको आँप,बदनामीको भारी बोकेको बजार

शनिबार, ३१ जेठ २०८२
तस्बिर : नागरिक दैनिकबाट

काठमाडौँ :स्वादिलो मालदह जातको लहानको आँप काठमाडौँसहित देशभर चर्चित छ। तर यो आँप जति लोकप्रिय छ, त्यति नै बदनाम पनि।

भारतीय वा अन्य स्थानबाट ल्याइएका आँपलाई ‘लहानको मालदह’ भन्दै बिक्री गर्ने प्रवृत्तिले यसको छवि धमिल्याएको छ। साथै, बोटबाट समय अगावै आँप टिपेर रासायनिक पदार्थ प्रयोग गरी पकाउने र बजारमा पठाउने गलत अभ्यासले पनि लहानको आँपलाई विवादमा पारेको छ।

लहानमा जेठको पहिलो सातादेखि आँप टिप्ने गरिन्छ, तर भारतीय आँप वैशाखमै नेपाली बजारमा भित्रिन्छ। व्यापारीहरूले भारतबाट ल्याइएको आँपलाई लहानको मालदह भन्दै राजधानी पुर्‍याउने गरेका छन्। यिनै कारणले लहानको मौलिक आँप बजारमा बदनाम हुँदै आएको हो।

यस समस्यालाई सम्बोधन गर्न लहान नगरपालिकाले गत वर्षदेखि आँपको ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङसहित बिक्री प्रक्रिया सुरु गरेको छ।

नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार यस वर्ष पनि लहानको आँप ब्रान्डमा काठमाडौँमा विशेष स्टल स्थापना गरेर बिक्री सुरु गरिएको छ। स्टलमा बम्बई र मालदह जातका आँप छुट्टाछुट्टै प्याकिङ गरेर पाँच र दस किलोको प्याकेटमा राखिएको छ।

अर्ग्यानिक उत्पादनमा जोड

'विषादी प्रयोग नगरिएको, परिपक्व अवस्थामा टिपिएको अर्ग्यानिक आँप मात्र ब्रान्डिङ गरेर राजधानी पठाइएको छ,'मेयर चौधरीले भने, ‘बजारमा लहानको नाममा बेचिने विषादीयुक्त आँपका कारण गुमेको विश्वास पुनः स्थापित गर्न हामीले साँचो लहानको आँप चिनाउन थालेका हौँ।’

किसानको मेहनत,बगैँचामै चार महिना

सप्तरी शम्भु नाका दुर्गा साह फूल लागेदेखि आँप टिपिने समयसम्म बगैँचामै बाँसको मचानमा बास बस्छन्।

डेढ बिघामा खेती गरेका साहका अनुसार बोटमा पानी हाल्ने, मल दिने, कीरा नियन्त्रण गर्ने औषधि प्रयोगजस्ता काममा दिनरात व्यस्त हुन्छन्। ‘सर्पको जोखिम मोलेर पनि बगैँचामै सुत्नुपर्छ,’ उनले भने, ‘गत वर्ष दुई लाख लगानीमा आँप खेती गर्दा करिब चार लाख आम्दानी भयो।’

उता सिरहाको गोविन्दपुरका किसान लालबहादुर कोइरी भने यसपालि उत्पादन कम भएकोमा चिन्तित छन्। 'फुल कम फले पनि मूल्य राम्रो पाइयो भने सन्तोष हुने थियो,' उनले भने।

उत्पादन घट्यो, मूल्य पनि घट्यो

यस वर्ष लहानको आँपको मूल्य घटेको छ। खुद्रा बजारमा मालदह जातको आँप प्रतिकिलो ५० रुपैयाँभन्दा कम छ भने बम्बई जातको अधिकतम ७० रुपैयाँ पर्छ। उत्पादन कम भए पनि मूल्य नबढेको किसानहरूको गुनासो छ।

आँप खेतीमा मधेसको वर्चस्व

नेपालमा सबैभन्दा धेरै आँप उत्पादन हुने क्षेत्र भनेको मधेस प्रदेश हो। कुल उत्पादनको झन्डै ७६ प्रतिशत आँप मधेसमै फल्छ। कृषि मन्त्रालयका अनुसार मुलुकभर करिब ४२ हजार १ सय ९६ हेक्टरमा आँप खेती हुन्छ, जसबाट ४ लाख ५३ हजार ४ सय १६ टन आँप उत्पादन हुने गर्छ।

२०८०/८१ मा मात्रै मधेसमा ३३ हजार १ सय ७१ हेक्टर क्षेत्रमा खेती भई ३ लाख ४६ हजार ६ सय ८१ टन आँप फलेको थियो। प्रदेशका सिरहा र सप्तरी जिल्लामा सबैभन्दा बढी उत्पादन हुन्छ। गत वर्ष सिरहामा १ लाख ३ हजार ५ सय ५८ टन र सप्तरीमा ८६ हजार २ सय ५० टन आँप उत्पादन भएको थियो।

शीत भण्डारको अभाव, निर्यात सपना अधुरै

युरोपलगायत मुलुकमा निर्यात गर्न सकिने सम्भावना हुँदाहुँदै पनि मधेसको आँपको मूल्य र प्रभाव गुमाउँदै गएको छ। यसको प्रमुख कारण भनेको भण्डारणको सुविधा नहुनु हो।

सिरहा र सप्तरीजस्ता प्रमुख उत्पादक जिल्लामा शीत भण्डार छैन। ‘शीत भण्डार भए आँप किसानले उपयुक्त समयमा उचित मूल्यमा बिक्री गर्न सक्थे,’ किसान सागर चौधरी भन्छन्।

२०७५ सालमा प्रदेश सरकारले आठ जिल्लामा शीत भण्डार बनाउने योजना ल्याएको थियो। यसअनुसार आठ वटा संस्था छनोट पनि भएका थिए। तर योजना कार्यान्वयनको प्रक्रियामा विवाद, उजुरी र भ्रष्टाचारका आरोपका कारण योजना ठप्प भएको तत्कालीन कृषि मन्त्री शैलेन्द्र साह बताउँछन्।

उनका अनुसार यो योजना पुनः कानुनी मार्गदर्शनसहित अगाडि बढाइनुपर्ने आवश्यकता छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार