मधेश प्रदेशको ४६ अर्ब ५८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

आइतबार, ०१ असार २०८२

जनकपुर : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सुनिल कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन्।

बजेट अनुसार कुल विनियोजनमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। पुँजीगत खर्चको अनुपातले प्रदेश सरकारले पूर्वाधार तथा विकासलाई प्राथमिकता दिएको देखिन्छ।

बजेट खर्चको स्रोततर्फ आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, र समपूरक अनुदानबाट ३५ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

यस्तै, राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाइने व्यवस्था गरिएको अर्थमन्त्री यादवले जानकारी दिए।

सरकारले प्रदेशको आर्थिक विकास, पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र रोजगारी सृजनालाई प्राथमिकता दिएर बजेट तयार गरिएको जनाएको छ।

 

मधेशको बजेट हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार