गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

मंगलबार, २० माघ २०८२

इटहरी ।  गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतले एकतर्फी प्रेमको पीडाभित्रै पनि छोडेर गएकी प्रियप्रति आत्मीय शुभेच्छा व्यक्त गरेको छ। शब्द, संगीत र स्वरको सन्तुलनले गीत सुन्दर बनेको छ।


ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई पेमा शेर्पा राईले स्वर दिएकी छन्। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ छ।


यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’, २०७९ मा मनमा बी राईले र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका राई काठमाडौंलाई कर्मथलो बनाउँदै हाल साहित्य र पत्रकारितामा सक्रिय छन्। उनले यसअघि दस वर्षे शिक्षण अनुभव बटुलेका छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।


नेपाली लघुकथाको क्षेत्रमा सक्रिय राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव हुन्। उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष तथा ‘लघुकथा सौन्दर्य’ का संस्थापक समेत हुन्। ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक लघुकथासंग्रहमा उनका केही लघुकथा सङ्गृहीत छन्।


उनको संयोजन र विमल भौकाजीको सम्पादनमा सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै प्रकाशित भएको छ। यसका साथै उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा सम्पादनको अनुभव पनि बटुलेका छन्।


नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार