वैदेशिक रोजगारीको पीडा : तीन वर्षमै कोशीका ७७४ श्रमिकले गुमाए ज्यान,सयौं अपाङ्ग

शुक्रबार, ०६ असार २०८२
फाइल तस्बिर

इलाम : पछिल्ला तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका कोशी प्रदेशका मात्रै ७७४ जना श्रमिकको मृत्यु भएको छ भने २७३ जना गम्भीर रूपमा अङ्गभङ्ग भएर फर्किएका छन्।

सुरक्षित आप्रवासन (SAMI) कार्यक्रमले संकलन गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ को जेठ महिनासम्म यो स्थितिको यथार्थ उजागर भएको हो।

तथ्याङ्कअनुसार कोसी प्रदेशबाट मात्रै यो अवधिमा ७७४ जना कामदारको विदेशमा मृत्यु भएको छ। त्यसमा सबैभन्दा धेरै झापा जिल्लाबाट १६६ जना र सबैभन्दा कम ताप्लेजुङबाट १२ जना रहेका छन्। बाँकी जिल्लाहरुमा मोरङ १४६, सुनसरी १४१,उदयपुर ६७,इलाम ६२, खोटाङ ३५,धनकुटा ३२, पाँचथर ३०,भोजपुर २४, तेह्रथुम १९,सङ्खुवासभा १७ र सोलुखुम्बु १६ जनाको मृत्यु भएको हो।

यस्तै, यिनै तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा कोसी प्रदेशकै २७३ श्रमिक अङ्गभङ्ग भएका छन्। उनीहरू अपाङ्ग भई फर्किएका छन् भने धेरैजसोले पर्याप्त क्षतिपूर्ति पाएका छैनन्।

सामी कार्यक्रमका अनुसार विदेशमा मृत्यु भएका परिवार तथा अङ्गभङ्ग भएका श्रमिकका लागि क्षतिपूर्तिको सहजीकरण परियोजनाले गरिरहेको छ।

इलाममा सामी परियोजनाकी कार्यक्रम संयोजक गीता बञ्जाराका अनुसार परियोजनाले पीडित परिवारलाई कानुनी तथा प्रशासनिक प्रक्रिया सजिलो बनाइदिने, आवश्यक कागजात संकलनमा सहयोग गर्ने र विभिन्न निकायसँग समन्वय गरी राहत उपलब्ध गराउने कार्य गर्दै आएको छ।

परियोजनाको प्रत्यक्ष प्रभावस्वरूप वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिहरूले समेत राहत पाउन थालेका छन्। जस्तै, इलाम नगरपालिका–८ तिल्केनीका बलबहादुर श्रेष्ठले कोरिया जानका लागि एक लाख रुपैयाँ गुमाएका थिए। सामी परियोजनाको सहयोगमा उनले उक्त रकम फिर्ता लिन सकेका छन्।

यद्यपि, सामी परियोजनाका अनुसार अन्तर जिल्ला ठगी भएका घटनामा पीडितले क्षतिपूर्ति उठाउन अझै धेरै समस्या भोगिरहेका छन्। विभिन्न कानुनी झन्झट, प्रमाण संकलनको कठिनाइ र जिम्मेवार निकायको उदासीनताले गर्दा पीडितले न्याय पाउन ढिलाइ हुने गरेको उल्लेख गरिएको छ।

सामी कार्यक्रमले विदेशबाट फर्किएकाहरूलाई नेपालमै व्यावसायिक बनाउन तालिम, सिप विकास र साना उद्यमको लागि प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार