सिरहा : यो आँप पाक्ने याम हो, सिरहा अहिले आँपकै सुगन्धले डगमगाइरहेको छ। बजार,सडक किनारा,बगैँचा,जहाँ हेरे पनि आँपै आँप देखिन्छ। कुनै बोटमुनि ग्राहक पर्खिरहेका किसान छन्, त कतै आँप टिप्ने र बेच्न भ्याइनभ्याइ छ। सिराहाका राजमार्गदेखि गाउँसम्म माल्दसहित विभिन्न जातका आँपले क्षेत्र ढाकिएको छ। यही आँप अहिले स्वादको मात्रै होइन, अर्थतन्त्र, आत्मनिर्भरता र रोजगारीको पनि कथा बुनिरहेको छ।
‘आँपको राजधानी’ भन्ने उपमा औपचारिक हैन, तर जनमानसमा सिरहाले यो उपाधि जितिसकेको छ। व्यापक उत्पादन, समथर भूगोल, अनुकूल हावापानी, स्वादिलो जात र व्यावसायिक महत्वका कारण सिरहा आँपका लागि आदर्श क्षेत्र बनेको छ। आँप यहाँको संस्कार, जीवनशैली र अर्थतन्त्रसँग गाँसिएको फल हो। यही कारणले हजारौँ किसानको जीवन आधार बनिरहेको छ।
गोलबजार–३ मुसहर्नियाका किसान भरत यादव र नीरज सिंहले सय बिघाभन्दा बढी क्षेत्रमा आँपखेती गर्दै आएका छन्। यो बगैँचा जिल्लाकै नमुना बनेको छ, जहाँ सिजनमा २५–३० जनाले रोजगारी पाउँछन् र सयौँ कार्टुन आँप काठमाडौँ, पोखरा, जनकपुरलगायत सहर पठाइन्छ। तर पनि भारतीय आँपले बजार कब्जा गर्दा उनीहरू चिन्तित छन्।
नीरज सिंह भन्छन्, “हामीले मेहनत गरेर आँप फलाउँछौँ, तर भारतीय आँपले बजार लिँदा मूल्य पाउँदैनौँ।” भारतीय आँप सस्तो दरमा चाँडै बजारमा आउने भएकाले यहाँका स्वादिलो, सुरक्षित र ताजागुणयुक्त आँप प्रतिस्पर्धामा पछाडि परिरहेका छन्।
लहान, गोलबजार, मिर्चैया, कर्जन्हा, धनगढीमाई जस्ता नगरपालिकाबाट उत्पादित आँप स्वादमा अब्बल छन्। विशेषगरी लहानको माल्द आँप उपभोक्ताबिच अत्यन्तै लोकप्रिय छ। तर बजारमा नक्कली लेबल र अत्यधिक विषादी प्रयोग भएका भारतीय आँप ‘लहानको माल्द’ भनेर बेचिँदा यसको बदनामी हुँदै गएको छ।
किसान शम्भु चौधरी भन्छन्, “हामीले जैविक उपाय अपनाउँछौँ, हाम्रो आँप स्वादिलो, ताजा र सुरक्षित छ। तर बजारमा नक्कली माल्दले विश्वास गुमाउँदै छ।”
मधेस प्रदेश आँपखेतीको मेरुदण्ड हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अनुसार, देशभर उत्पादन हुने ५.१३ लाख मेट्रिक टन आँपमध्ये ७७ प्रतिशत अर्थात् करिब ३.९५ लाख मेट्रिक टन आँप मधेसमै फल्छ। यसमा पनि सिरहा अगाडि छ—यहाँ एक लाख चार हजार मेट्रिक टन आँप उत्पादन हुन्छ।
लहान नगरपालिकाले पछिल्ला दुई वर्षदेखि ‘लहानको माल्द’ ब्राण्डिङ गरी राजधानीसहितका सहरहरूमा बिक्री गरेको छ। कृषि संयोजक बद्रीनारायण चौधरीका अनुसार, पहिलो वर्ष ३० मेट्रिक टन र दोस्रो वर्ष ९० मेट्रिक टन आँप ब्राण्डिङ गरेर पठाइएको थियो। यस वर्ष भने उत्पादनमा २० प्रतिशतले गिरावट आएपछि ब्राण्डिङ रोकिएको हो।
त्यस्तै गोलबजारको आँपलाई पनि अबदेखि ब्राण्डिङ गरिँदै छ। कृषकहरूलाई बिरुवा वितरण, तालिम, अनुदान कार्यक्रममार्फत व्यावसायिक खेतीतर्फ आकर्षित गरिँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको आँपलाई जुस बनाएर युरोप निर्यात गर्नुपर्ने अभिव्यक्ति दिँदा आशा पलाएको थियो। तर अहिले पनि मधेस प्रदेशमा चिस्यान केन्द्र छैन। लहान नगरप्रमुख महेश चौधरी भन्छन्, “कृषकले आँप भण्डारण गर्न पाए बजार मूल्यमा बिक्री गर्थे। तर स्थानीय तहसँग स्रोत छैन, प्रदेश र सङ्घीय सरकारले सहयोग नगर्दा सम्भावना थलिएको छ।”
नेपालमा फलफूल आयात, विषादी परीक्षण, सीमा स्तर निगरानी र स्थानीय उत्पादनको संरक्षणका लागि स्पष्ट नीति छैन। जसका कारण किसानको मेहनत खेर गइरहेको छ। जानकारहरू भन्छन्—सरकारले चिस्यान केन्द्र, प्रशोधन कारखाना, निर्यात सहजीकरण गरे मधेसको आँप अन्तर्राष्ट्रिय ब्रान्ड बन्न सक्छ।
सिरहाको आँप अब केवल स्वाद र सुगन्धको कुरा मात्र होइन, यो सम्भावनाको कथा हो—जहाँ हजारौँ किसानको भविष्य गाँसिएको छ। यसलाई संरक्षण गर्न नीतिगत निर्णय, बजार व्यवस्थापन र सरकारको गम्भीर प्रतिबद्धता आवश्यक छ। आँपको राजधानी सिराहालाई अब वास्तविक अर्थमा समृद्धिको राजधानी बनाउनुपर्ने समय आएको छ।
प्रतिक्रिया