काठमाडौँ : गाँजा पट्टीमा इजरायली सेनाले गरेको पछिल्लो सैन्य अपरेसनका क्रममा तीन जना इजरायली बन्धकको शव फेला परेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिवार जारी विज्ञप्तिमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको पुष्टि गरेका हुन्।
प्रधानमन्त्री नेतान्याहूले आफ्ना सुरक्षा कमान्डरहरूको प्रशंसा गर्दै अपहरणमा परेकाहरूलाई घर फर्काउने अभियान अझ तीव्र बनाइने बताएका छन्।
उनका अनुसार यो अभियान इरानविरुद्धको रणनीतिक कदमसँग पनि जोडिएको छ। “हामी बाँचेकाहरू मात्र होइन, मृतकहरूलाई पनि घर फर्काउनेछौँ,” नेतान्याहूले बताएका छन्।
इजरायली रक्षा बल (IDF) ले यही महिनामा गाजाबाट आठ जना बन्धकको शव बरामद गरिसकेको जानकारी दिएको छ। हाल पनि करिब ५० जना बन्धक गाजामा रहेका छन् भने ३१ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।
शव फेला परेकामध्ये ७१ वर्षीया ओफ्रा केइदारलाई हमासले दक्षिण इजरायलको किबुट्जबाट अपहरण गरी हत्या गरेर शव गाजातर्फ लगेको थियो।
१९ वर्षीय स्टाफ सार्जेन्ट शाई लेभिनसन भने हमाससँगको भिडन्तमा मारिएका थिए। योनाटन समेरानोको शव फेला परेको पुष्टि उनका पिताले सामाजिक सञ्जालमा गरेका छन्। शव भेटिएको दिन नै योनाटनको २३औँ जन्मदिनसमेत थियो।
विपिन जोशी अझै बेपत्ता
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका तीमध्ये कैलाली, बझाङ, दार्चुला, धनुषा, सुनसरी, डोटी र सल्यानका युवाहरू थिए।
सोही हमलामा कञ्चनपुरका विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए। हमासले उनलाई बन्धक बनाएको पुष्टि भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात छ। नेपाल सरकारले विभिन्न माध्यमबाट उनको अवस्थाबारे पत्ता लगाउने प्रयास गरिरहे पनि सफलता हात पार्न सकेको छैन।
सरकारले विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको बताउँदै आएको छ। तर,समय बित्दै जाँदा उनको अवस्था झनै चिन्ताजनक बन्दै गएको परिवार र सर्वसाधारणको चिन्ता बढ्दो छ।
इजरायल र हमासबीचको हिंसात्मक सङ्घर्ष गत अक्टोबर ७ बाट सुरु भएको हो। हमासको हमलामा १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। त्यसयता इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गर्दै आइरहेको छ।
यसबीच मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चिन्ताहरू बढिरहेका छन्। इजरायली कारबाही र हमासको हिंसात्मक रणनीति दुवैले गाजामा मानवीय सङ्कट गहिराएको विश्लेषकहरूले बताउँदै आएका छन्।
प्रतिक्रिया