इटहरी : प्रेम,सपना र धोका—यी तीन शब्दले सुनसरीको इटहरी उपमहानगरपालिका–७ की हसन्तीकुमारी चौधरीको जीवन कहानीलाई समेट्दछ । २०६४ साल पौष ९ गते, हसन्ती २० वर्षकी थिइन् ।
मनोज कुमार चौधरीसँग प्रेममा रहेका उनीहरू परिवार र समाजबाट सम्बन्धलाई मान्यता दिलाउँदै विवाहमा परिणत गर्न चाहन्थे । तर मनोजका लागि त्यो प्रेम, केवल एकपक्षीय स्वार्थ थियो भन्ने कुरा उनको पछिल्लो कर्मले स्पष्ट पारिदियो ।
जब विवाहमा मन नमिलेपछि सम्बन्धमा खटपट सुरु भयो, त्यही खटपटले हत्याको रूप लिएको प्रहरीले जनाएको छ । प्रहरीको विवरणअनुसार,मनोजले हसन्तीलाई सुकुमारी खोलामा डुबाएर हत्या गरेका हुन् ।
त्यसपछि उनी भारतको बनारस फरार भए । झन्डै एक वर्ष उतै बिताएपछि उनी घर फर्किए र रोजगारीका लागि मलेसिया पुगे । त्यहाँ पनि अनुकूल नभएपछि अन्ततः उनी पुनः नेपाल फर्किए । उनी सामान्य नागरिकझैँ इटहरीमै लुकीछिपी बसिरहेका थिए ।
हत्या भएको १७ वर्ष बितिसकेको थियो । कानुनी व्यवस्थाले पनि लामो समयसम्म उनलाई ‘अपराधी’ करार गर्न सकेन । कारण थियो २०६४ सालमा भएको हत्यामा २०७४ सालमा मात्र लागू भएको मुलुकी फौजदारी संहिताको प्रभाव । यो संहिता लागू भएपछि मात्रै २०७५ सालमा जिल्ला अदालत सुनसरीले चौधरीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
तर, त्यो आदेश जारी भएको ७ वर्षसम्म पनि उनी पक्राउ परेनन् । प्रहरीले खोजीलाई तीव्र बनाएको थियो । उनी प्रहरीको विशेष निगरानी सूचीमा थिए । अन्ततः उनी पक्राउ परे ।
घटना भएको १७ वर्षपछि उनी इटहरी ६ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेपछि उनलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरिँदै अनुसन्धान अघि बढाइएको छ ।
विगतका २० वर्षमा इटहरी क्षेत्रमा भएका २२ ओटा हत्या घटनामध्ये हालसम्म १२ ओटा हत्याका घटनामा प्रहरी पुगेको छ । बाँकी १० ओटा घटनाका अपराधी अझै पत्ता लाग्न बाँकी रहेको छ ।
यो पनि
प्रतिक्रिया