धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा ईभीसहित चार सवारी साधन ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि कोसी राजमार्ग अन्तर्गतको सो स्थानमा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रहरीले दिएको जानकारीअनुसार बिहान ११ बजेतिर प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सरेपछि प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। त्यस टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दिएको थियो ।
ईभी गाडी पनि पछाडि रहेको प्रदेश १–०२–००१ क ४८९२ नम्बरको अर्को ट्रकमा ठोक्किएपछि सडक अवरुद्ध भएको हो ।
धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि चारै वटा सवारीसाधन सडकमै अड्किएका कारण दुईतर्फी सडक पूर्ण रूपमा बन्द भएको छ।
सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन बाटोमै रोकिएका छन्। उक्त सडक मार्गबाट धनकुटा, भोजपुर र सङ्खुवासभासम्म सवारी आवागमन हुने भएकाले यात्रुहरूलाई समेत सास्ती भएको छ।
डिएसपी खनालका अनुसार सडक खुलाउन जेसीबी प्रयोग गरेर सवारी हटाउने प्रयास भइरहेको छ। बाटो सुचारु हुन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया