मोरङको ग्रामथानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, ०७ भदौ २०८२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ धोबीयारेमा शुक्रबार राति अटो टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । 

नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को २ ह ६२६९ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परेर ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल बूढीगंगा लगिएको थियो । तर, उपचारको क्रममा शनिबार बिहान ५ः२० बजेतिर उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

सोही दुर्घटनामा परेर ग्रामथान–७ का ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार अटो तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार