पत्रकार तीर्थ कोइराला ‘कोशराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित

शनिबार, ०७ भदौ २०८२

विराटनगर : वरिष्ठ पत्रकार तीर्थ कोइराला ‘कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालालाई पुरस्कार प्रदान गरिएको हो।

चार दशकदेखि काठमाडौंमा सक्रिय पत्रकारिता गरिरहेका कोइरालालाई कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

स्व. पत्रकार कोशराज रेग्मीको स्मृतिमा पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष पत्रकारितामा योगदान पुर्‍याउनेलाई प्रदान गरिन्छ।

कार्यक्रममा सभामुख विष्टले पत्रकारहरूको सहमतिमा पत्रकारमैत्री कानुन बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने गरी आवश्यक ऐन नियम बनाइनेछ।”

त्यस अवसरमा स्व. रेग्मीले नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीलगायतले पत्रकारितासम्बन्धी प्रदेश सरकारले ल्याउन लागेको कानुनलाई संशोधनसहित मात्र कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार