झापा : अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका ३४ वर्षीय भुटानी शरणार्थी सञ्जिल राई झापाको दमक नगरपालिका–३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एन्ड लजमा मृत अवस्थामा फेला परेका छन्।
२०८२ साउन ३१ गते दिउँसो करिब १२ः३० बजे होटेलको कोठा नम्बर–२०१ भित्र अचेत अवस्थामा भेटिएका राईलाई तत्कालै उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। तर,उपचारकै क्रममा दिउँसो २ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दमक प्रहरीले होटेलको कोठाभित्र ‘गुग्ली’ नामक विषादीको खाली र सिलबन्द प्याकेट फेला पारेको जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार उनले विष सेवन गरेका हुन सक्ने प्रहरीको भनाइ छ। तर घटनाको वास्तविक कारण अझै अनुसन्धानमै रहेको डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए।
राई २०८२ साउन २५ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए। उनी बेलडाँगी शरणार्थी शिविर निवासी मनिला चाम्लिङ राईलाई भेट्न आएका थिए।
आइतबार बिहान ढोका नखोलेपछि होटल सञ्चालकले प्रहरीको सहयोगमा ढोका फोड्दा उनी घोप्टो अवस्थामा अचेत भेटिएका थिए।
सञ्जिलको जीवन कथा शरणार्थी पीडासँग गहिरो रूपमा गाँसिएको थियो। भुटानले निष्कासन गरेपछि सन् १९९२ मा परिवार झापास्थित शरणार्थी शिविरमा आएको थियो। त्यतिबेला उनी आठ महिनाका शिशु मात्रै थिए। पछि पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका उनी अचानक डिपोर्ट भई नेपाल फर्किएका हुन्।
तर, किन र कहिले डिपोर्ट गरियो भन्ने बारे परिवारलाई कुनै जानकारी छैन। उनका काका प्रकाश राई भन्छन्, “डिपोर्ट किन भयो भन्ने बुझ्न पाएका छैनौँ। सञ्जिलको मृत्युले हामी पीडामा छौँ।”
परिवारका सदस्य हाल अमेरिकाको ओहायोमा बस्दै आएका थिए। मृत्युपछि नेपाल फर्किएका उनीहरूले शुक्रवार (भदौ ६ गते) अन्तिम संस्कार गरेका छन्। अहिले उनका आमा–बुबा र बहिनी बेलडाँगी शिविरमै काकाको टहरोमा बसेका छन्।
सञ्जिल नेपाल आएको कुरा पनि परिवारलाई थाहा थिएन। घटना घटेपछि मात्र खबर पाएको सञ्जिलकी फुपू दिलमाया राईले भनिन्, “उनी नेपाल आएको थाहा नै पाएका थिएनौँ।”
प्रतिक्रिया