काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलनले नेपाल प्रहरीमा महिला कर्मचारीको सशक्तीकरण र लैङ्गिक समानताको यात्रामा नयाँ अध्याय थपेको गृहसचिव गोकर्णमणि दुवाडीले बताए ।
उनका अनुसार, देशभरका महिला प्रहरी कर्मचारी, अवकाश प्राप्त महिला अधिकृत तथा महिला सशक्तीकरण र लैङ्गिक समानतामा काम गर्ने समाजका विशेषज्ञहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान, विचार विमर्श र नेतृत्व विकासको अवसर प्रदान गर्न यो सम्मेलन अत्यन्तै फलदायी रहेको छ।
सम्मेलनमा सहभागी विशेषज्ञहरूले विभिन्न अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेका थिए भने अन्तरक्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्त्वपूर्ण सल्लाह तथा सुझाव प्राप्त भएको गृहसचिव दुवाडीले बताए । उनले सम्मेलनबाट जारी घोषणापत्र र प्रतिवेदनको प्रभावकारी कार्यान्वयन सम्बन्धित निकायले सुनिश्चित गर्नुपर्ने बताए ।
समापन समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले महिला प्रहरी कर्मचारीहरूले अपराध नियन्त्रण, अनुसन्धान, ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्न निर्देशन दिए ।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनले नेपाल प्रहरीले लैङ्गिक समानता र न्यायलाई मूलधारमा ल्याउने लक्ष्यमा मार्गनिर्देशन गरेको बताए । सम्मेलनको अन्त्यमा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारी, योगदान पु¥याउने व्यक्तिहरू तथा संघ–संस्थालाई कदरपत्र, पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो।
नेपाल प्रहरीले यस सम्मेलनलाई महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र समावेशी, व्यावसायिक तथा जनमुखी सेवा प्रवाहका लागि महत्वपूर्ण कोशेढुङ्गा भएको जनाएको छ।
प्रतिक्रिया