वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्ने धरानेलाई प्रधानमन्त्रीले भने,'मैले चाहेको विषय हो'

शुक्रबार, १३ असार २०८२

काठमाडौँ : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘चिकित्सा विज्ञान विश्वविद्यालय’को रुपमा विकसित गर्नुपर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक धारणा व्यक्त गरेका छन् । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट गएको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त विषय आफैँले चाहेको विषय भएको बताएका हुन् । नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईका अनुसार प्रधानमन्त्री ओलीले चाहना अनुरूप नै यो विषय उठाएको बताएका हुन् ।

सरकारले हालै ल्याएको “एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२“ मार्फत धरानको वीपी प्रतिष्ठानसहित देशका ६ वटा स्वास्थ्य प्रतिष्ठानलाई एउटै कानुनी संरचनामा ल्याउने तयारी गरेको छ । तर, धरानका प्रमुख दलहरूले वीपी प्रतिष्ठानलाई यो छाता ऐनबाट अलग राखी चिकित्सा विज्ञान विश्वविद्यालयका रूपमा स्थापित गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

प्रतिनिधि मण्डलमा नेकपा (एमाले) का भीमज्वाला राई, मैसम राई, नेपाली कांग्रेस धरान सभापति श्याम पोखरेल, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जसपा नेपाल धरान अध्यक्ष ताजुव लिम्बू, नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, कांग्रेस धरान सचिव हिमाल श्रेष्ठ, युवा नेता सरोज सिटौला, धरान १७ का वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) लगायत सहभागी थिए ।

टोलीले प्रधानमन्त्री ओलीसँगको भेटका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग पनि भेटवार्ता गरेको छ । यसअघि टोलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, कांग्रेस नेता गगन थापा, तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग पनि वार्ता गरिसकेको कांग्रेस धरान सभापति श्याम पोखरेलले जानकारी दिए । 

जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बूका अनुसार अब हामी कांग्रेस सभापति शेरबहादुर देउवासहित पौडेल र पन्तसँग पनि पुनः भेट गर्ने तयारी रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको सर्वदलीय ध्यानाकर्षणपत्रमा के छ ?


१३ असार २०८२


सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
सिंहदरबार काठमाण्डौ ।

विषय : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी  चिकित्सा विज्ञान विश्वविद्यालय बनाइदिनुहुन ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” अन्तर्गत छाता ऐनमा लाने प्रस्तावप्रति धराने जनताको गम्भिर ध्यानाकर्षण भएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा स्थापित वीपी प्रतिष्ठानले मधेश प्रदेशदेखि पुर्वका सम्पूर्ण भूभाग र भारतका सीमावर्ती जिल्लाका नागरिकलाई समेत विशेषज्ञ चिकित्सकहरुको उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । देश तथा विदेशमा सेवा गरिरहेका विशेषज्ञ चिकित्सकहरु उत्पादनमा समेत वीपी प्रतिष्ठानकै योगदान रहेको छ । छिमेकी राष्ट्र भारतमा रहेको एम्स अस्पतालको मोडेलमा परिकल्पना गरिएको वीपी प्रतिष्ठानलाई सोही अनुरुप विकास गर्दै लैजानु आजको आवश्यक्ता हो ।

एमबीबीएस, बीडीएस, एमएस, डीएम, एमएच लगायत दर्जनौँ कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको वीपी प्रतिष्ठान, स्वास्थ्य सेवा र शिक्षण उदेश्यमा आधारित नेपालको पहिलो प्रतिष्ठान हो । 

पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्तिको उपलब्धता, पठनपाठनका लागि सौहार्द वातावरण प्रचुर संरचनाहरु र ठुलोसंख्यामा रहेका सेवाग्राहीहरुको केन्द्र वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय निर्माण गर्न पर्याप्त आधारहरु हुन्  । दक्ष चिकित्सक उत्पादन र गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन”को सामान्य इकाईका रुपमा राखिनु अदूरदर्शी कदम र धराने जनतामाथिको अपमान हो । 

सम्माननीय प्रधानमन्त्री ज्युकै अघिल्लो कार्यकालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने पहल कदमीले धरानवासीलाई हर्षित बनाएको थियो । परिणामस्वरुप उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकै अध्यक्षतामा २०८० साल चैत ३० गते सम्पन्न वीपी प्रतिष्ठानको ४५ औँ सञ्चालक परिषद् (सिनेट) बैठकले वीपी कोइराला चिकित्सा विज्ञान विश्वविद्यालय मस्यौदा ऐन पारित गरेपछि तदनुरुप प्रकृयागत कामहरु समेत अघि बढिसकेको थियो । तर, त्यसपछिका सरकारले निर्णय कार्यान्वयनलाई निरन्तरता नदिनु धराने जनताका लागि दूर्भाग्य सावित भएको छ । 

सम्माननीय प्रधानमन्त्री ज्युकै प्रकृया अघि बढेको वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने विषयमा सम्मानीय प्रधानमन्त्री ज्यू प्रतिवद्ध हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । वीपी प्रतिष्ठानको सेवा र उत्पादन वृद्धिमा सुधार जरुरी छ । तर सुधारको बहानामा ऐतिहासिक महत्व बोकेको स्वास्थ्य संस्थालाई केन्द्रिकृत ढाचामा समेट्नु गम्भिर त्रुटी हुनेछ । वीपी प्रतिष्ठान राष्ट्रले गौरव गर्नुपर्ने स्वास्थ्य संस्था हो, यसलाई छाता ऐनमा समेटेर खुम्च्याउन खोज्नु सबैका लागि दुर्भाग्य हुनेछ । 

सम्माननीय प्रधानमन्त्री ज्यु, 
वीपी प्रतिष्ठानलाई छाता ऐनमा लाने त्रुटीपूर्ण प्रस्तावलाई सच्याउँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । 
हार्दिक धन्यवाद सहित ।

१. श्याम पोखरेल
सभापति
नेपाली काङ्ग्रेस, धरान

२.हर्कजङ्ग एभेङ
 अध्यक्ष
 नेकपा (एमाले) धरान

३. उद्धव लिम्बू
अध्यक्ष
नेकपा (माओवादी केन्द्र) धरान

४. ताजुव लिम्बू
अध्यक्ष 
जनता समाजवादी पार्टी नेपाल, धरान

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार