जेनजी आन्दोलनपछि दलभित्र पुस्तान्तरणको बहस चर्कियो: युवा नेताहरू अझै किन पछाडि?

विहीबार, ०२ असोज २०८२

काठमाडौँ : नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्वमा अहिले तीन पुस्ता छन् । शीर्ष नेतृत्वमा ज्येष्ठ पुस्ता छन् भने पदाधिकारीमा अधबैँसेको वर्चस्व छ । केन्द्रीय सदस्यमा युवाहरूको प्रवेश पर्याप्त नभए पनि बढ्दो क्रममा छ ।

राजनीतिमा पुस्तान्तरणको बहस

पार्टीभित्रका युवा पुस्ताले दबाब बढाउँदै लगे पनि अधबैँसे पुस्ता नेतृत्व पुस्तान्तरणका लागि तयार छैन ।

ज्येष्ठ पुस्ताका केपी शर्मा ओली नेतृत्वको एमालेमा शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, विष्णु पौडेललगायतले अधबैँसे पुस्ताको प्रतिनिधित्व गर्छन् भने पदम गिरी, महेश बर्तौला, उषाकिरण तिम्सिना, सुनिता बरालसहित दर्जनभन्दा बढी केन्द्रीय सदस्यले युवा पुस्ताको प्रतिनिधित्व गर्छन् ।

जेनजी आन्दोलनपछि राजनीतिक नेतृत्वमा पुस्तान्तरणको बहस भइरहेका बेला एमालेका अधबैँसे पुस्ता नेतृत्व सन्निकट भएका कारण भावी नेतृत्व पाइने आसमा र केही युवा पुस्ताका नेताबाहेक नेतृत्वको चाकडी गर्ने नाममा पुस्तान्तरणको बहसमा खुलेर सहभागी हुन चाहेका छैनन् ।

जसका कारण एमालेमा नेतृत्व परिवर्तन असम्भवजस्तै देखिन थालेको छ । अधबैँसे पुस्ताबाट ज्येष्ठ पुस्ताउन्मुख एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीको अनुपस्थितिमा पार्टीका बैठक डाक्न र कार्यवाहकको भूमिका निभाउन नचाहेको र युवा पुस्ताबाट अधबैँसे पुस्तामा भर्खर प्रवेश गरेका केन्द्रीय सदस्य महेश बस्नेतलगायतले ओलीको विकल्प नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

जेनजी आन्दोलनपछि प्रमुख दलहरूमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चर्किँदै गइरहेको छ । यो बहस यसअघि नभएको होइन, तर नेतृत्वले आवाज उठाउनेको आवाज दबाउने काम हुँदै आएको छ ।

ज्येष्ठ नागरिक भत्ता खाने उमेर पुस्ताका नेताहरू अहिले प्रमुख दलको नेतृत्वमा छन् । नेतृत्व लिने भनिएका दोस्रो पुस्ताका अधबैँसे नेताहरू वृद्ध पुस्ताका नेताहरूकै चाकरी र बचाउमा छन् । तेस्रो पुस्ताका युवा नेताहरू कोही खुलेरै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको आवाज उठाइरहेका छन् भने कोही अधबैँसे पुस्ताकै शैली पन्छाउँदै ज्येष्ठ पुस्ताकै नेताहरूका पछि छन् ।

तीन ठूला दलसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टीसहितका प्रमुख दलहरूमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चर्किँदै गएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनबाट सभापतिमा पुनः दोहोरिन पाउँदैनन् । दुई पटक लगातार सभापति भएका देउवा पार्टी विधानअनुसार तेस्रो कार्यकालका लागि सभापति हुन पाउँदैनन् । तर, पछिल्लो समय काँग्रेसमा पनि नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको आवाज उठेको छ । दोस्रो पुस्ताका नेताहरू यस’boutमा आवाज उठाए पनि सुनिएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले नेतृत्व हस्तान्तरणको कुरा उठाएका छन् । काँग्रेसमा ज्येष्ठ नागरिक भत्ता खाने उमेर समूहका नेता र अधबैँसे समूहका नेताहरू अत्यधिक छन् । ४० वर्षमुनिका युवा नेताहरू केन्द्रीय कमिटीमा छैनन् । १ सय ५१ सदस्यीय कांग्रेस केन्द्रीय कमिटीमा वृद्ध भत्ता खाने समूह र अधबैँसे समूहका नेताहरूकै वर्चस्व छ ।

काँग्रेसका नेता रञ्जित कर्णले अहिलेको वर्तमान केन्द्रीय समिति भङ्ग गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बताए । पार्टी सभापति देउवाले तुरुन्त राजीनामा गर्नुपर्ने र पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।

‘नेपाली काँग्रेसमा युवा पुस्ताका नेताहरू हुनुहुन्न, १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा ४० वर्षमुनिका युवा नेता भएको मेरो जानकारीमा छैन, अहिले तत्काल केन्द्रीय समिति भङ्ग गर्दै पार्टी सभापतिले समेत राजीनामा गर्नुपर्छ,’ कर्णले राजधानीसँग भने ।

एमालेमा पनि काङ्ग्रेसजस्तै ज्येष्ठ समूह र अधबैँसे समूहका नेताहरूको कब्जामा पार्टी छ । एमाले अध्यक्ष केपी शर्मा ओली ७४ वर्ष पुगिसकेका छन् ।

एमालेको नवौँ र १०औँ महाधिवेशनबाट अध्यक्ष भएका ओली तेस्रो कार्यकाल अध्यक्ष हुन आफू अनुकूल विधान संशोधन गराइसकेका छन् । चार पटक प्रधानमन्त्री भइसकेका ओली पार्टीको नेतृत्व छोड्न अझै तयार छैनन् । तेस्रो कार्यकाल अध्यक्ष हुने उनको चाहनामा अधबैँसे पुस्ताका नेताहरूले मलजल गरिरहेका छन् ।

एमालेको १९ सदस्यीय पदाधिकारीमा एक जना पनि युवा नेता छैनन् । अधबैँसे समूहका नेताहरूको कब्जामा एमाले छ । तर, केन्द्रीय कमिटीमा भने काङ्ग्रेसभन्दा एमालेमा युवा नेताहरू बढी छन् । सौराहा महाधिवेशनबाट एमालेको तीन सय केन्द्रीय सदस्यमध्ये ४५ वर्षमुनिका युवा नेता दर्जनभन्दा बढी छन् ।

एमालेमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालगायतका सीमित युवा नेताले मात्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने विषय चर्को रूपमा उठाउँदै आएका छन् । एमाले केन्द्रीय सदस्य तिम्सिना निः सर्त रूपमा पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने अभियानमै जुटेकी छन् ।

‘दशकौँदेखि एउटै मान्छे प्रधानमन्त्री छ, पार्टी अध्यक्ष छ, भ्रष्टाचारको ग्राफ बढेको छ तर नेतृत्वलाई एकातिर पैसा कमाउने चिन्ता छ, मुलुक र जनताको चासो एवं चिन्ता नगर्दा आज मुलुकले यो अवस्था भोग्नुपरेको यथार्थ हामीले बुझ्नुपर्छ, त्यसैले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण निः सर्त रूपमा हुनुपर्छ,’ एमाले केन्द्रीय सदस्य तिम्सिनाले भनिन् ।

तिम्सिना एमाले केन्द्रीय कमिटीमा एकलो युवा पुस्ताका नेतृ होइनन् तर अरू नेताहरू खुल्न चाहेका छैनन्, नेतृत्वका विरुद्धमा बोल्यो भने अवसरबाट वञ्चित हुने डर र त्रासमा उनीहरू छन् ।

एमालेमा उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहितका नेताहरूले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणकै पक्षमा उभिए पनि कार्यकर्ताबिच यो अभियान लिएर पुग्न सकेका छैनन् ।

कांग्रेस र एमालेभन्दा माओवादी केन्द्रको अवस्था फरक छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी स्थापनादेखि नै अध्यक्ष छन् । नेतृत्व परिवर्तन गर्ने आवाज उठाउने नेताहरू पार्टीबाटै विभिन्न समयमा विभिन्न कारण देखाउँदै कारबाहीमा परेका छन् भने कतिपयले पार्टी नै परित्याग गर्ने अवस्था निर्माण भएको छ ।

पछिल्लो समय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ पार्टी अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै खुलेरै लागेका छन् । तर, माओवादी केन्द्रमा रहेका अधबैँसे र युवा पुस्ताका नेताहरू अझै नेतृत्वको बचाउमै छन् । शर्माजस्तै खुलेर नेतृत्वको राजीनामा माग्ने नेता माओवादी केन्द्रमा देखिँदैनन् । युवा पुस्ताका दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरू नेतृत्वको बचाउमै देखिन्छ ।

‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माले मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत १६ बुँदे विचार राख्दै पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने भन्दै प्रचण्डलाई खुला चुनौती नै दिएका छन् ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार