काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद् विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् ।
यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल,सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।
वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
आज बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ ।
शीतल निवासको अगाडिको भाग आगलागीले क्षतिग्रस्त भए पनि राष्ट्रपति पौडेल पछाडिको भवनमै बस्दै आएका छन् । त्यही भवनमा भएको छलफलकै परिणामस्वरूप सुशीला कार्की खिलराज रेग्मीले गरेझैँ सरकार सञ्चालनको जिम्मेवारी लिन लागेको स्रोतले बताएको छ । राजा फर्कने हल्ला पनि निकै चलेको थियो ।
प्रतिक्रिया