बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशन : 'चाइल्ड हेल्थ'लाई गर्यो दुई इलेक्ट्रिक गाडी हस्तान्तरण

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ : अग्नि फाउण्डेशन, जुन अग्नि समूहको गैरनाफामूलक संस्था हो, ले आफ्नो ३५औँ वार्षिकोत्सव अवसरमा बाल स्वास्थ्य सुदृढीकरणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ। फाउण्डेशनले बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सी.एच.) लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक गाडीहरू हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा बोल्दै फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भन्नुभयो, “३५ वर्षको यात्रामा हामी हाम्रो समूह, साझेदार र समुदायसँगै अघि बढ्दै आएका छौँ। आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा पु¥याउन सहयोग गर्ने सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा दिने संस्था मात्र होइन, यो आशा र भविष्यको सम्भार गर्ने स्थान हो। यस महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।”

इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भने, “हाम्रो संस्था विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण र बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। अब हस्तान्तरण गरिएका यी गाडीहरूले यी कार्यक्रमहरूमा प्रयोग हुनेछन्। यसबाट हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् भने अप्रत्यक्ष रूपमा पनि धेरैले स्वास्थ्य सेवाको सहज पहुँच पाउनेछन्। हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”

अग्नि समूहको ‘संगै अघि बढ्ने’ मूल्य–दर्शन व्यवसायिक सफलता मात्र नभई समुदायको उन्नतिमा पनि केन्द्रित छ। वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधा भएको महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक गाडीहरूले के.आई.ओ.सी.एच. का स्वास्थ्य, शिक्षा र सामुदायिक कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद् व्यवस्थापन क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ। यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालको पिआईसियु र एनआईसियु मर्मत तथा स्तरोन्नति गरेको छ। साथै, बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरिएको छ।

फाउण्डेशनको उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई गुणस्तरीय, किफायती र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउनु हो। यसले विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरमा दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण मानिएको छ। समूहका प्रतिनिधिहरूका अनुसार, “संगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार