इटहरी : नेपाल प्राकृतिक रूपमा सुन्दर मनोरम दृश्यहरूले भरिएको मुलुक हो । धार्मिक, भौगोलिक तथा जातीय विविधता, साथै आफ्नै मौलिक रितिरिवाज, कला, संस्कृति र संस्कारका कारण पनि विश्वमानचित्रमा नेपालको पहिचान स्पष्ट रूपमा स्थापित छ ।
यिनै आकर्षक मनोरम प्राकृतिक छटाहरू र धार्मिक क्षेत्रहरूको अवलोकन तथा अध्ययनका लागि विश्वका विभिन्न मुलुकहरूबाट पर्यटकहरू नेपाल भ्रमण गर्न आउने गरेका छन् ।
धार्मिक पर्यटनका साथै प्राकृतिक सुन्दरता र मनोरम दृश्य अवलोकन गर्न पूर्व योजना बनाएर हाम्रो मुलुक नेपालमा विश्वका विभिन्न देशबाट पर्यटकहरूको आगमन भइरहेको छ ।
पछिल्लो केही वर्षयता नेपालीहरू पनि आन्तरिक र बाह्य पर्यटन गतिविधिमा सक्रिय देखिएका छन् । साथीभाइसँग घुमघाम गर्ने, परिवारसहित भ्रमण गर्ने र बालबालिकालाई मनोरञ्जनका लागि आकर्षक स्थानमा लैजाने क्रम नेपालीहरूमा बढ्दो छ ।
पूर्वी नेपाल पनि विदेशबाट आउने पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका धार्मिक स्थलहरू, हिमाल, पहाड र तराई क्षेत्रको भौगोलिक, मौसमी र जातीय विविधता, साथै समुद्र सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्म र न्यूनतम उचाई झापाको कचनाकवल (६९ मिटर) सम्मका क्षेत्रहरू समेटिएको कारण कोशी प्रदेश विदेशका पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।
कोशी प्रदेशमा रहेका केही धार्मिक स्थलहरूले पनि आन्तरिक र बाह्य पर्यटकहरूलाई विगतदेखि नै आकर्षित गर्दै आइरहेका छन् । यस प्रदेशका केही प्रमुख धार्मिक पर्यटकीय स्थल यस प्रकार रहेका छन् ।
वराहक्षेत्र
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र हिन्दू धर्मावलम्बीहरूको पावन तिर्थस्थल हो । हिन्दू धर्मका चार प्रमुख क्षेत्रहरू मध्ये एक वराहक्षेत्र पुजिने क्षेत्रको रूपमा चिनिन्छ । भगवान विष्णुको तेस्रो अवतार वराह अवतारको कथा अनुसार सागरमा डुब्न लागेको पृथ्वीलाई उद्धार गरी बाहिर निकालिएको विश्वास गरिएको छ । पितृ उद्धारका लागि पहिलो श्राद्ध गरिएको ठाउँको रूपमा समेत वराहक्षेत्र प्रसिद्ध छ ।
सडक सुविधा साथै चतराबाट सप्तकोशी नदी भएर जेटबोटमार्फत पनि वराहक्षेत्र मन्दिर पुग्न सकिन्छ । मन्दिरमा दैनिक देश–विदेशबाट भक्तजन दर्शन र पूजा अर्चना गर्न आउने गर्दछन् । विभिन्न चाडपर्वहरूमा विशेष मेला पनि लाग्ने गर्दछ ।
बराहक्षेत्रमा कार्तिक हरिवोधनी एकादशीदेखि पूर्णिमा सम्म पाँच दिन, बालाचतुर्दशी एक दिन, पौसे औसी एक दिन, माघे संक्रान्ती एक दिन र श्रावण महिना भर विशेष मेला लाग्ने गर्दछ । सन् १००८ मा मन्दिर जिर्णोद्धार भएको, १९९१ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धसिंहले पुनर्निर्माण गरेको जनश्रुति रहेको छ । कोशी तथा कोकाह नदीको कटान र भूकम्पका कारण मन्दिर जोखिममा परेको छ ।
यस क्षेत्रलाई दीर्घकालीन रूपमा संरक्षण गरी सुरक्षित बनाउन आवश्यक छ ।
पाथिभरादेवी
ताप्लेजुङ जिल्लामा रहेको पाथिभरादेवी मन्दिर सबै जाति, लिङ्ग र समुदायका मानिसका लागि खुला छ । समुद्र सतहदेखि ३,९९४ मिटर उचाईमा रहेको यस मन्दिरमा वर्षेनी उल्लेखनीय संख्यामा भक्तजन दर्शन र पूजा गर्न आउने गर्दछन् । पाथिभरादेवीको दर्शनमा भदौ महिनादेखि लगातार भक्तजनको भिड लाग्ने गर्दछ ।
साउन महिनामा पूजा नहुने मान्यता छ भने पुस–माघ महिनामा अत्याधिक चिसोका कारण अन्यत्रबाट भक्तजनहरू कम आउने गर्दछन् । देश–विदेशबाट, जस्तै भारतको सिक्किम, दार्जेलिङ, असम, सिलगुडी आदि स्थानबाट समेत तिर्थयात्री आउने गर्दछन् । सडक स्तरोन्नतिका कारण मन्दिरसम्म पुग्न सहज भएको छ ।
मन्दिर परिसरमा सयौं वर्ष पुराना ढुङ्गाका कलात्मक मूर्तिहरू, घण्टाहरू र पुरातात्विक वस्तुहरू देख्न सकिन्छ । करिब पाँचसय वर्षअघि देवीको थान स्थापना भएको विश्वास छ । देवीको निर्देशन अनुसार गोठालाले हराएका भेडा भेटाएपछि पूजा आरम्भ भएको मिथक प्रचलित छ । पाथिभरादेवी क्षेत्र विकास समिति र मन्दिर संरक्षण समितिले भक्तजनका लागि वाटो मर्मत, सरसफाई, धर्मशाला, पानीको व्यवस्था आदि कार्य गर्दै आएका छन् ।
हलेसी महादेव
कोशी प्रदेशको खोटाङ जिल्लामा रहेको हलेसी महादेव मन्दिर धार्मिक सहिष्णुताको नमूना हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरू यहाँ दर्शन, पूजा अर्चना र प्रार्थनाका लागि वर्षेनी आउँछन् । यहाँका गुफाहरूमा प्राकृतिक शिवलिङ्ग र अन्य देवदेवीका मूर्तिहरू छन् । रामनवमी, वालाचतुर्दशी, शिवरात्री र तीजमा विशेष मेला लाग्छ ।
सडक सञ्जालसँग जोडिएको कारण भक्तजनको पहुँच सहज छ । यस क्षेत्रमा देश–विदेशबाट नियमित दर्शन र पूजा गर्न आउने गर्दछन् ।
विजयपुर क्षेत्र
सुनसरी जिल्लामा रहेको विजयपुर क्षेत्र ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्र हो । देवकालिन कथाअनुसार सतीदेवीको अग्निकुण्डमा प्राण त्यागेपछि महादेवले उनको शव लिएर संसार घुम्दा पिण्ड राखिएको विश्वास छ ।
किराँत धर्मावलम्बीहरूको वुढासुब्बा मन्दिर पनि यही क्षेत्रमा अवस्थित छ । दन्तकाली मन्दिरमा नौरथाका दिन विशेष पूजा हुन्छ भने पिण्डेश्वर बाबाधाममा साउन महिनाको सोमबार जल चढाउने प्रथा छ। साउन महिना भर देश–विदेशबाट भक्तजन आउँछन् ।
विजयपुर क्षेत्र ऐतिहासिक रूपमा पनि महत्वपूर्ण छ । यहाँका मठमन्दिरहरूमा दर्शन, पूजा र अध्ययनका लागि छिमेकी भारतसहित अन्य देशबाट पर्यटकहरू आउने गर्दछन् । स्थानीय संघसंस्थाहरूले क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय भूमिका खेलेका छन् ।
प्रतिक्रिया