झापा : नेकपा एमाले निकट युथ भोलिन्टियर फोर्सको झापा संगठन संरचना सार्वजनिक गरिएको छ । बिर्तामोडमा रहेको एमाले झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ६२ सदस्यीय जिल्ला फोर्स घोषणा गरिएको हो ।
जिल्ला फोर्सको कमाण्ड विकास गिरीलाई दिइएको छ भने सहायक कमाण्डरको जिम्मेवारी भानु सुब्बा र बाबु लिम्बुलाई तोकिएको सो अवसरमा जानकारी गराइयो । युथ भोलिन्टियर फोर्सको पहिलो पटक जिल्ला तहको नेतृत्व सार्वजनिक गरेको कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले जिल्ला नेतृत्वलाई सपथ गराउँदै संगठनलाई देशभर विस्तार गरिने बताए। झापाबाट जिल्ला फोर्स घोषणा हुनु रणनीतिक सुरुआत भएको उल्लेख गर्दै उनले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र बाह्य प्रभावविरुद्ध युवाहरू संगठित हुनुपर्ने आवश्यकता समेत औंल्याए ।
श्रेष्ठले देश बनाउने शक्ति र देश ध्वस्त पार्ने शक्तिबीचको भिन्नता पहिचान गरेर अघि बढ्नुपर्ने धारणा राख्दै युवाहरूलाई सचेत भूमिकामा उभिन आग्रह गरे। विदेशी चलखेलविरुद्ध युथ भोलिन्टियर फोर्स दृढतापूर्वक उभिने प्रतिबद्धता पनि उनले जानकारी गराए ।
घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुंगेललगायतले संगठन निर्माण, युवा परिचालन र राजनीतिक स्थायित्वका विषयमा धारणा राखे।
नवनियुक्त जिल्ला कमाण्डर विकास गिरीले युथ भोलिन्टियर फोर्सलाई जिल्लाका टोल–टोलसम्म विस्तार गर्दै सुरक्षा दस्ताका रूपमा परिचालन गरिने जानकारी दिए । संगठनले सामाजिक सुरक्षा, अनुशासन र राजनीतिक चेतना अभिवृद्धिलाई प्राथमिकता दिने लक्ष्य लिएको गिरीको भनाइ रहेको थियो ।
झापाबाट सुरु भएको जिल्ला फोर्स गठनले राष्ट्रिय राजनीतिमा युवाको संगठित भूमिकाबारे नयाँ बहस सुरु गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया