एमाले कहिल्यै चुनावबाट भाग्दैनः महासचिव पोखरेल

सोमबार, ०१ मंसिर २०८२
File Photo

लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले कुनै पनि परिस्थितिमा चुनावबाट नभाग्ने स्पष्ट बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनताको ‘म्यान्डेट’ प्रति सबैभन्दा जिम्मेवार र प्रतिबद्ध रहेको दाबी गरे ।

महासचिव पोखरेलले आगामी फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकारको ध्यान र काम चुनावकेन्द्रित हुनुपर्ने बताए। तर सरकारका गतिविधि त्यसअनुरूप नदेखिएको उल्लेख गर्दै उहाँले राजनीतिक सङ्कट समाधानका लागि सर्वोत्तम उपाय संसद् पुनःस्थापना नै भएको जिकिर गरे।

उनका अनुसार निर्वाचन सम्भव बनाउन सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल, संवाद र राजनीतिक सहमतिसहित सुरक्षित र संविधानसंगत वातावरण तयार गर्नतर्फ जुट्न आवश्यक छ। “चुनावमा निर्णायक भूमिका हुने प्रहरीको हतियार लुटिएका छन्, फरार कैदीबन्दीहरू खुलेआम हिँडिरहेका छन्। यस्तो अवस्थामा प्रहरी र नागरिक दुवैको मनोबल कमजोर छ,” पोखरेलले भने, “डर र त्रासको मनोविज्ञान कायम रहँदासम्म चुनाव कसरी सम्भव हुन्छ ?”

महासचिव पोखरेलले प्रतिनिधिसभा पुनःसंस्थापना, संविधान संशोधनमार्फत युवाका माग सम्बोधन र त्यसपछि ‘अर्ली’ चुनावमा जाने विकल्प समेत प्रस्तुत गरे। भदौ २३–२४ का घटनालाई नियोजित षड्यन्त्रको परिणाम भन्दै उनले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिए।

विचारका आधारमा मुलुक धुव्रीकरण भइरहेकाले अस्थिरता कायमै रहेको उल्लेख गर्दै उनले मुलुकलाई स्थिरततर्फ डोर्याउन राजनीतिक सहकार्य र स्पष्ट धारणा महत्त्वपूर्ण हुने बताए।

आगामी महाधिवेशनबारे राखेको धारणा प्रस्तुत गर्दै महासचिव पोखरेलले पार्टीले नीति तथा विचारमा दोस्रो विधान अधिवेशनमै टुङ्गो लगाइसकेको र जेनजी प्रदर्शनसम्बन्धी विषयमा पनि पर्याप्त छलफलपछि धारणा सार्वजनिक भइसकेको बताए। “अब महाधिवेशनले सहमतिको आधारमै सक्षम र सर्वसम्मत नेतृत्व चयन गर्नेछ,” उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार