काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज बालुवाटारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीको निवासमा सम्पन्न उक्त भेटमा दुवैजनाबीच मुलुकको वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन तथा सरकारको प्राथमिकतामाथि विस्तृत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री खरेलले सरकारका हालका गतिविधि, नीति–प्राथमिकता तथा फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका तयारीबारे अवगत गराए। उनले सरकार निर्वाचनको वातावरण निर्माण गर्न केन्द्रित रहेको उल्लेख गर्दै सबै राजनीतिक दल सकारात्मक रहेको जानकारी पनि दिए। साथै, शान्ति–सुरक्षाका विषयमा देखिएको चासोअनुरुप सरकारले आवश्यक पूर्वतयारी अघि बढाइरहेको उनले बताए।
मन्त्री खरेलका अनुसार जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन र पारदर्शी शासन व्यवस्थामा जोड दिँदै काम गरिरहेको छ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचन नै मुलुकको उपयुक्त राजनीतिक निकास भएको बताइन्। उनले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउनु र सरकारले वातावरण निर्माणमा ध्यान दिनुपर्नेमाथि जोड दिँदै भनिन्, “निर्वाचन नै अहिलेको निकासको सही बाटो हो। सरकारले वातावरण बनाउनु र सबै दलले सहभागी हुनु अत्यावश्यक छ।”
प्रतिक्रिया