प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्ता प्रक्रियामा उल्लेख्य उत्साह देखिएको छ। आयोगमा आज मात्रै एक दर्जनभन्दा बढी राजनीतिक दलले दर्ता निवेदन पेस गरेका छन्।

हालै एकता घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी तथा एकता प्रक्रियामा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितका दल निर्वाचन आयोग पुगेर दर्ता आवेदन पेश गरेका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताको समयसीमा मंसिर १ देखि १० गतेसम्म तोकिएको बताउँदै पहिलो दिन नै दर्तामा देखिएको सक्रियता उत्साहजनक रहेको प्रतिक्रिया दिए।

दर्ताका लागि आयोग परिसरमा बिहानैदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन आज दल दर्ता निवेदन बुझाउनेमध्ये देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंह छन्।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीकी सरस्वतीकुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले पनि आयोगमा दल दर्ता निवेदन बुझाएका छन्।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पनि आज नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले दल दर्ता आवेदन पेस गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार