काठमाडौं : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको जनाएको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिद्धान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।
प्रवक्ता चालिसेले भने,‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रीत गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरी पनि हामीले गरेका छौं । हामी सँधै मूल्य र सिद्धान्तमा अडिक रहने छौं । संविधानको रक्षा गर्दै,नव युवाको आंकाक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं ।’
चालिसेले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको पनि जानकारी दिए । बैठकले देश र विदेशमा रहेका सबै कांग्रेसजनहरुलाई फागुन २१ गतेको निर्वाचनमा सरिक हुन र सक्रियतापूर्वक लाग्न आव्हान गरेको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदानको बैठकले उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको प्रवक्ता चालिसेले बताए ।
प्रतिक्रिया