शोक दिवसपछि पनि प्रश्न यथावत् : कहिले पक्राउ पर्छन् युवाका ‘हत्यारा’ ?

विहीबार, ०२ असोज २०८२

काठमाडौँ : जेनजी युवाको आह्वानमा २३ र २४ भदौमा भएको विद्रोहपछि ‘सत्तापलट’ भयो । अन्तरिम सरकारले नयाँ जनादेशको लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

सुशासन, भ्रष्टाचारमुक्त समाज, जबाफदेहिता र समानताका लागि भएको यस आन्दोलनले नेपाली इतिहासमा पारेको छाप एकातिर छ भने विध्वंस, तोडफोड र आगजनीका कारण व्यहोर्नुपर्ने बदनामी पनि उस्तै छ ।

आन्दोलनका क्रममा भएका लुटपाटका फोटा तथा भिडियोहरूका आधारमा ‘लुटेराहरू’ पहिचान भएसँगै हिंसा भड्काउने ‘हिंस्रक’ र हत्या गर्ने ‘हत्यारा’हरू कहिले भेटिन्छन् ? भन्ने प्रश्न उठेको छ ।

अन्तरिम सरकार गठन भएको एक साता बित्दा पनि आन्दोलनको विषयमा न्यायिक छानबिन आयोगले नेतृत्व, स्वरूप र टीओआर’ नपाउँदा जेनजी युवा ‘हत्यारा’को पहिचान र कारबाही अन्योलमा छ ।

आन्दोलनका क्रममा हालसम्म ७३ जनाभन्दा बढीको ज्यान गइसकेको छ । पहिलो दिनको आन्दोलनमा प्रहरीले छाती र टाउकामा ताकेर गोली हानेको सार्वजनिक भिडियोहरूमा देखिन्छ ।

ताकेर गोली हानेकै कारण एकै दिन २१ जना युवाको ज्यान गयो । हाई कमान्डले अधिक बल प्रयोग नगर्न दिएको निर्देशन विपरीत गोली हानेर युवाको नियोजित हत्या गर्ने सुरक्षाकर्मीमाथि छानबिन गर्न सरकारले अहिलेसम्म चासो देखाएको छैन ।

२३ भदौमा मृत्यु भएका जेनजी युवाहरूको नवौँ दिनका दिन अन्त्येष्टि गरिएको छ भने १०औँ दिनलाई सरकारले शोक दिवस घोषणा गरेर सार्वजनिक बिदा दिएको छ ।

१०औँ दिनसम्म पनि छानबिन आयोगले पूर्णता र टीओआर नपाउँदा शहीद परिवार, घाइते तथा आन्दोलनमा सहभागी भएका जेनजी प्रतिनिधिलाई भने सरकार फेरबदलको खेल मात्रै भएको हो कि भन्ने आशङ्का सुरु भएको छ ।

आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटको फुटेजका आधारमा खोजी र कारबाही प्रक्रियाले विभिन्न पसलबाट आइसक्रिम, रक्सी, डल, लत्ताकपडा लुटेकाहरूको फोटो भिडियो व्यापक प्रचारप्रसार भए पनि बैङ्क डकैती गरी नगद र सुनचाँदी डकैती गर्नेहरू भेटिएका छैनन् । न त उनीहरूको डकैतीको सिसिटिभी फुटेज नै सार्वजनिक भएको छ ।

सरकारले आन्दोलनको भावना र जनतामा विश्वास जोगाउने हो भने घटनाको छानबिन र लुटपाट तथा डकैतीको अनुसन्धान प्रभावकारी बनाउनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका एमाले नेता नवराज सिलवाल बताउँछन् ।

व्यक्ति फेर्ने र धमिलो पानीमा माछा मार्ने नियतले विध्वंस मच्चाएर लुटपाट गर्ने नियत हाबी भएको समूहले आफ्नो उद्देश्य पूरा गरेको सिलवालको आरोप छ । ‘सरकारले पूर्ण रूपमा स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ,’ सिलवालले भने ।

जेनजीमाथि आक्रमण र बेइज्जतको खतरा

जेनजीको आन्दोलनले सत्ता परिवर्तन भइसकेको अवस्थामा राजनीतिक दलका कार्यकर्ताहरू र समाजमा विभिन्न हिसाबले सामाजिक आर्थिक सत्तामा रहेकाहरूबाट भौतिक आक्रमण र सामाजिक बेइज्जतीको खतरा बढेको छ ।

२३ र २४ भदौको आन्दोलन लगत्तै कञ्चनपुरका नरेश धानुकलाई स्थानीय नेपाली काँग्रेसका कार्यकर्ताले नाङ्गो बनाएर आन्दोलनबाट भएको क्षति र ध्वंसात्मक अवस्थाको दोषी करार गर्दै सामाजिक बेइज्जती गरेका कारण आत्महत्या गरे ।

सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सेयर भएपछि धेरैले त सामान फिर्ता गर्न पनि थालेका छन्, तर आन्दोलनको जोसमा वा अरूले गरेको देखेर लहैलहैमा त्यस्ता काम गर्ने धेरैलाई मनोवैज्ञानिक आघात पुग्ने साइक्याट्रिक डाक्टर अनन्त अधिकारी बताउँछन् ।

योजनाबद्ध रूपमा ठूलो डकैती गर्नेहरू, आन्दोलनमा अमानवीय तथा जघन्य प्रकृतिले प्रहरीलाई कुटीकुटी मार्नेहरू र आन्दोलनमा बल प्रयोग गरेर दमन गर्नेहरूमाथि छानबिन नहुने तर खेलौना, बियर, चामल वा भाँडाकुँडा बोकेर हिँड्ने आन्दोलनकारीमाथि खनिनु पुरानो सत्ताको शोषक चरित्र भएको जेनजी आन्दोलनलाई सामाजिक समर्थन जुटाइरहेकाहरू बताउँछन् ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार