काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखिएका सुरक्षा चुनौतीको विश्लेषण गर्दै ती चुनौतीलाई प्रभावकारी ढङ्गले सामना गर्न आवश्यक सुरक्षा रणनीति तयार गर्न मातहतलाई निर्देशन दिएका छन् ।
महानिरीक्षक कार्कीले आफ्नो जिम्मेवारी सम्हालेपछि आज ‘भर्चुअल’ माध्यमबाट मातहतका विभिन्न कमिटीसँग संवाद गर्दै व्यावसायिक र जिम्मेवार प्रहरी सेवा प्रवाहमा जोड दिए ।
आपराधिक गतिविधि, सूचना सङ्कलन तथा विश्लेषणमा सक्रियता बढाउनु पर्नेछ। वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादीको पक्राउ उच्च प्राथमिकतामा राख्न निर्देशन दिइएको छ।
साथै, आगामी निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीति तयार पारेर कार्यान्वयन गर्न महत्त्वपूर्ण हुने बताए। “आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गर्नुहोस् र स्थानीय तह, सरोकारवाला सबै पक्षसँग समन्वय गरी व्यावसायिक, उत्तरदायी तथा जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुहोस्”, महानिरीक्षक कार्कीले भने।
निर्देशन कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू उपस्थित थिए भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
प्रतिक्रिया