झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच झापा–५ बाट चुनावी प्रतिस्पर्धा हुन सक्ने चर्चाले राजनीतिक सरगर्मी बढाएको छ।
सम्भावित चुनावी भिडन्तलाई लिएर स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा लिँदै विभिन्न राजनीतिक दल, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग आन्तरिक छलफल सुरु गरेको छ।
पछिल्लो समय बालेन शाहको टोलीले झापामा सक्रियता बढाएको, कार्यालय र बसोबासका लागि घर खोज्न थालेपछि सुरक्षा निकायको चासो बढेको हो।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आन्तरिक तयारी र समन्वयका कामहरू अघि बढिरहेको जानकारी दिए। उनका अनुसार सम्भावित चुनावी प्रतिस्पर्धालाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न प्रशासन सतर्क छ।
झापा–५ मा एमाले अध्यक्ष ओलीको बलियो राजनीतिक पकड रहे पनि बालेनको सम्भावित उम्मेदवारीले युवा मतदातामाझ उत्साह थपेको छ। तर यही उत्साह मुठभेडमा परिणत हुन सक्ने आङ्कलन सुरक्षा अधिकारीहरूको छ। प्रशासनको विश्लेषणअनुसार मोरङ र सुनसरीलगायत बाहिरी जिल्लाबाट ठुलो सङ्ख्यामा युवाहरू परिचालन हुन सक्ने र ‘जेन–जी’ युवाहरूको आक्रामक उपस्थितिले शान्ति सुरक्षामा असर पर्न सक्ने जोखिम देखिएको छ।
यही सन्दर्भमा झापाका प्रमुख जिल्ला अधिकारीले माघ ४ गते सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्य निर्वाचन अधिकृतको समेत उपस्थितिमा हुने उक्त बैठकमा निर्वाचन आचारसंहिता कार्यान्वयन, सम्भावित मुठभेड रोक्न दलहरूको प्रतिबद्धता, तथा स्वस्थ र मर्यादित प्रतिस्पर्धाबारे छलफल गरिने प्रशासनको तयारी छ।
शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनका क्रममा सहभागी रास्वपा नेताहरूसँग पनि प्रमुख जिल्ला अधिकारी गेलालले सम्भावित चुनौतीबारे छलफल गरेका थिए। रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले झापा–५ को अवस्थाबारे प्रशासनले चासो राखेको बताए। उनका अनुसार हाल चुनावलाई शान्तिपूर्ण कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भइरहेको छ।
प्रशासनले विशेष गरी युवा पुस्ताको सक्रियता बढेकाले पक्ष–विपक्ष दुवैका कार्यकर्ताबीच द्वन्द्व हुन नदिन संयम अपनाउन आग्रह गरेको छ
प्रतिक्रिया