रास्वपा काँग्रेसको मुख्य प्रतिस्पर्धी होइन, एक्लै चुनाव लडेर ‘स्वीप’ गर्छौँ : सुनील शर्मा

शनिबार, ०३ माघ २०८२
file pic

काठमाडौँ : नेपाली काँग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काँग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ उत्साह र भरोसासहित काँग्रेस एक्लै चुनावमा जाने र नतिजा आफ्नै पक्षमा पार्ने बताए।

आगामी चुनावमा रास्वपा मुख्य प्रतिस्पर्धी हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा शर्माले स्पष्ट अस्वीकार गरे। ‘आगामी निर्वाचनमा काङ्ग्रेससँग रास्वपाको ठुलो प्रतिस्पर्धा हुँदैन,’ उनले भने, ‘अब हामी सबै गाउँ छिर्छौँ, ढ्याक–ढ्याक पारेर मेजोरिटी ल्याउँछौँ।’

नयाँ नेतृत्वप्रति जनता र कार्यकर्तामा भरोसा बढेकाले चुनावी नतिजा काङ्ग्रेसकै पक्षमा आउने उनको दाबी छ।

शर्माले काँग्रेस अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारे। शेरबहादुर देउवा पक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सक्ने चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै उनले भने, ‘देउवा पक्ष ओलीसँग मिल्न जान्छ जस्तो मलाई लाग्दैन।

नेपाली काँग्रेस सिङ्गल चुनाव लड्छ, १६५ वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार हुन्छन्।’

उनले आगामी निर्वाचनपछि गगन थापा बहुमतसहित प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताए। ‘नयाँ आएको टिमले विगतका गल्ती दोहोराउँदैन,’ उनले थपे।

पार्टीभित्रको पछिल्लो विवादबारे बोल्दै शर्माले विशेष महाधिवेशन संस्थापन पक्षको दमनको परिणाम भएको टिप्पणी गरे।

‘पछिल्ला पाँच वर्षमा पार्टीभित्र नहुनुपर्ने धेरै कुरा भए, संस्थापनमा नलागेका साथीहरू उत्पीडनमा परे र टिकट वितरणमा चलखेल भयो,’ उनले भने, ‘नागरिक र क्याडरले खोजेको परिवर्तनको नतिजा नै यो महाधिवेशन हो।’

निर्वाचन आयोगले वैधानिकता दिइसकेकाले अब सबै पक्षले त्यसलाई स्वीकार गरी पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार