काठमाडौँ : निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको शेरबहादुर देउवा पक्ष सडकमा उत्रिएको छ।
आयोगको निर्णयको विरोधमा शनिवार साँझ देउवा पक्षीय युवाहरूले राजधानीको त्रि–चन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकालेका छन्।
देउवा पक्षीय नेविसंघ र नेपाल तरुण दलका कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन्। हातमा मसाल बोकेका प्रदर्शनकारीहरूले आयोगविरुद्ध नाराबाजी गर्दै निर्णय फिर्ता लिन माग गरेका थिए।
निर्वाचन आयोगले काँग्रेसको ‘विशेष महाधिवेशन’बाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा वैधानिकता दिएको थियो।
आयोगको उक्त निर्णयपछि देउवा पक्ष रुष्ट बनेको छ। देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले आयोगले पार्टीको विधि र विधान विपरीत निर्णय गरेको आरोप लगाएका छन्।
यसअघि शुक्रवार नै देउवा पक्षले आयोगको निर्णयविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको थियो। आयोगले आधिकारिकता दिनुअघि काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।
निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेपाली काङ्ग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष थप चर्किएको छ।
प्रतिक्रिया