काठमाडौँ : अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।
आगामी माघ ५ गते जनकपुरमा रास्वपाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदै सिंह पार्टी प्रवेश गर्ने भएका हुन्। यसको जानकारी सिंह स्वयंले दिएका छन्।
सर्लाही–४ बाट निर्वाचित स्वतन्त्र सांसद सिंह यसअघि नेपाली काँग्रेसमा आबद्ध थिए। काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए।
शुक्रवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले लेखेका छन्, “यही माघ ५ गते जगत् जननी माता सीताको जन्मस्थल जनकपुरधाममा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममार्फत आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु।”
उनले देश र मधेसमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र सांसदका रूपमा उठाउँदै आएको आवाज अब अझ सशक्त रूपमा अघि बढाउने उल्लेख गरेका छन्।
साथै, अरूलाई पनि आह्वान गर्दै सिंहले लेखेका छन्, “देश र मधेसको हित चाहने, मधेसमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन हार्दिक आह्वान गर्दछु।”
प्रतिक्रिया