सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’

शनिबार, १४ असार २०८२

 

काठमाडौँ । काठमाडौँको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् । उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि । उनको नाम हो—दाफुटी शेर्पा ।

दोलखाको सिमि गाउँमा जन्मिएकी दाफुटीको बाल्यकाल सरल थिएन । तर सपना भने विशाल थिए । उनले सानैदेखि कर्ममा विश्वास गरिन् , ‘जुनसुकै कठिन परिस्थिति किन नहोस्, आफ्नो सपना देख्न नछोड्नु,’भन्ने अठोटले उनको जीवनलाई मोड दियो ।

एसएलसीपछि उच्च शिक्षाको सपना बोकेर उनी काठमाडौँ आइन् । नयाँ शहर, अपरिचित परिवेश, जिम्मेवारीको भारी—सबैसँग जुध्नुपर्यो । आमाबुबाको आशिर्वादसँगै भाइबहिनीको जिम्मेवारी पनि काँधमा थियो ।

एकदिन उनले ‘मितिनी कफी’ नामक कोरियन क्याफेमा जागिरको सूचना पाइन् । कोरियनजस्तो देखिने मानिसको खोजीमा रहेको क्याफेमा शेर्पा अनुहार मिल्ने भएकाले सजिलै जागिर पाइन् ।

उनले भनिन्,‘त्यहाँ काम गर्दै जाँदा उनले प्लेटफर्महरु प्राप्त गर्न सफल भइन् । उनले भर्खरै खोलिएका क्याफेहरुमा विभिन्न ट्रेनिङहरु समेत दिन थालिन ।

‘मैंले काम खोज्ने क्रममा एउटा कोरियनले नेपालमा खोलेको एउटा मितिनी कफी भन्ने थियो । बारिष्टको रुपमा काम गर्ने, हेर्दा कोरियन जस्तो देखिने मानिस खोजिरहनु भएको रहेछ । मैंले एउटा दाईको माध्यमबाट थाहा पाए । मेरो लुक्स मिल्ने भएको कारण सजिलै त्यहाँ राखियो । कलेज जाँदै काममा जाँदै गर्नथालें । मैले त्यहाँ राम्रोसँग काम गरेको हुनाले धेरै प्लेटफर्महरु पाए । मैंले नेपालमा विस्तारै विस्तारै कफी सपहरु खोल्दै जाने, सपहरुमा कफी मेसिन कसरी चलाउने ?मेसिनहरुको मेन्यूहरु कसरी बनाउने? भन्ने सिकाउने प्लेटफर्महरु पाए ।’

सन् २०१२ बाट सुरु भएको त्यो कामले उनलाई न केवल आर्थिक रूपमा उभ्यायो, बरु कफी संसारप्रति गहिरो मोह जगायो ।

उनको जीवनको अर्को ठूलो मोड २०१७ मा आयो । जब उनले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य बनाएर सगरमाथाको शिखरमै कफी पस्किने सोच बनाइन् । तर सगरमाथा चढ्न ३० लाख लाग्थ्यो । उनीसँग २० हजार समेत थिएन् ।

‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मुल नाराको साथमा  चाँही नेपालको कफी चिनाउन क्याम्पेन सुरु गरें । क्याम्पेन सुरु गर्दा धेरै समस्याहरु आए । जसमा २०÷३० लाख पैसा लाग्ने भयो । तर म सँग २०÷३० हजार समेत थिएन । घरमा सल्लाह त गरें तर घरमा कोही हुनुहुन्न थियो । हिमाल आरोहण गर्ने क्षेत्रमा कोही थिएनन् । तर बुवा शिक्षक भएकाले पैसा मिलाउनुहुन्छ भन्ने मलाई विश्वास थियो । उहाँहरुले नजाउँ, हिमालमा गएपछि मान्छे फर्किएर आउँछ की आउँदैन भन्ने नै हुँदैन । कति धेरै मान्छे मरिराखेका हुन्छन् । किन जाने ? पढ्नुपर्छ भनेर भन्नु भयो,’उनले विगत कोट्याइन् ।

परिवारमा कुरा राख्दा हिमाल चढ्न जोखिम भएका कारण उनले सपोर्ट पाइनन् । यस्तो अवस्थामा उनको सपना कुनैपनि हालतमा पूरा हुने अवस्था नै थिएन । तर उनले आफ्नो सपनालाई जीवित राख्न अनेक उपाय र जुक्तिहरु लगाउन थालिन् ।

एकदिन नेपाली कफीहरुको लागि ‘म एभरेष्ट चढ्दैछु सहयोग गर्नुस्’ भनेर फेसबुक लाइभ बसेर सहयोग मागिन् । त्यहाँबाट ६० प्रतिशत रकम संकलन भयो । बाँकी रकम उनले भर्खरै सुरु गरेको कफी सप धितोमा राखेर जुटाउने सोच बनाइन् ।

यसरी ‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मुल नाराको साथ २४ मे २०१८ मा  एभरेष्टमा गएर दुई विदेशी र दुई जना आरोहीहरुलाई कफी बनाएर पिलाउँदै आफ्नो सपना पूरा गर्न सफल भइन् ।

उनले भनिन्, ‘२४ मे २०१८ मा एभरेस्टमा गएर दुई जना विदेशी र दुईजना आरोहीहरुलाई कफी बनाएर पिलाउन पनि सफल भएँ ।’

सगरमाथा आरोहणपछि काठमाडौँ फर्किंदा एयरपोर्टमा कृषकदेखि व्यापारीसम्मले उनलाई सम्मान गरे । उनी भन्छिन्, ‘कफीले मलाई सगरमाथा पुर्यायो र सगरमाथाले मलाई जीवनको नयाँ पहिचान दियो ।’

दाफुटीले मकालु, आमादब्लम, लोबुचे, अन्नपूर्ण–१ जस्ता हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेकी छिन् । उनी सगरमाथा चढ्ने पहिलो महिला बारिस्टा पनि हुन् ।

दाफुटीले अहिले आफ्नै तीनवटा कफी फेन्चाइज सञ्चालन गरिरहेकी छिन् । करिब दुईसय जना युवालाई वारिस्टा, बारटेन्डर र कुकिङ तालिम दिइसकेकी छिन् । उनी हाल बागमती प्रदेश सरकारसँग मिलेर ४० जना महिलालाई कफी तालिम दिइरहेकी छिन् ।

उनको अर्को सपना—नेपाली कफीलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने । ‘हामी विदेश जानुपर्ने होइन, विदेशीलाई नै यहाँ ल्याएर हाम्रो कफी पिलाउनुपर्छू’ उनी भन्छिन् ।

दाफुटी आफ्नो अनुभवमा बताउँछिन्,‘पहिला जहाँ हिउँ देखिन्थ्यो, अहिले त्यहाँ चट्टान देखिन्छ । खाल्डोमा परेर हराउने धेरै घटना भइरहेका छन् । जलवायु परिवर्तन हिमाल चढ्नेलाई थप जोखिम बनिरहेको छ ।’

उनी दोलखा जिल्लामा कफी खेतीको ठूलो सम्भावना देख्छिन्, ‘गाउँपालिकाले खाली जग्गा सदुपयोग गरे, स्थानीय रोजगारी सिर्जना हुन्छ । युवा विदेश जानु पर्दैन,’उनी दृढतापूर्वक भन्छिन् ।

दाफुटी शेर्पाको कथा केवल सफलताको होइन, आँट, संघर्ष, र अठोटको कथा हो । उनका लागि कफी व्यवसाय मात्र होइन, यो नेपालको आत्मनिर्भरताको, पहिचानको, र भविष्य निर्माणको अभियान हो ।

 

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार