काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउन नसक्ने बताएका छन्। जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आज आयोजित ‘जबजका तीन दशक’ कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिएका छन्।
ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ। विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुत भएर अगाडि बढेको छ। एमालेलाई कसैले धुलो पार्न सक्दैन।” उनले एमाले एक रहेको र एक रहने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको ‘मिसन–८४’ सफल पार्न सबैलाई आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले बलियो रहेको उल्लेख गरे।
ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान नेपालको राजनीतिक इतिहासमा विशेष कालखण्ड भएको बताए। “जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि ठूलो सङ्कट थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो,” उनले भने, “तत्कालीन परिस्थितिलाई कसरी सामना गर्ने भन्ने चुनौतीका बीच मदन भण्डारीले समयअनुकूल सोचबुझका साथ पार्टी अगाडि बढाएका थिए।” उनले पछिल्ला तीन दशकमा जबजको सिद्धान्त कार्यान्वयन गर्दै आएको पनि स्मरण गरे।
मदन भण्डारीले समयसापेक्ष रूपमा जनताको बहुदलीय जनवाद (जबज)को विचार निर्माण गरेको उल्लेख गर्दै ओलीले आज पनि नेपाल यही विचारमा आधारित भएर अघि बढिरहेको बताए। उनले एमालेको पाँचौँ महाधिवेशनमा जबजलाई सूत्रबद्ध गरिएको भए पनि चौथो महाधिवेशनमै त्यसको आधार बनिसकेको बताएका छन्।
“एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई महत्वपूर्ण निर्णय गरेको थियो — जबजलाई आत्मसात् गर्नु र मदन भण्डारीलाई महासचिव बनाउनु,” ओलीले भने।
प्रधानमन्त्री ओलीले चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढाल्न मद्दत गरेको पनि बताए। “त्यही महाधिवेशनपछिको वाममोर्चा निर्माण, कांग्रेससँगको सहकार्य र संयुक्त आन्दोलनमार्फत ६ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरंकुश राजतन्त्र संवैधानिक बन्यो,” उनले सम्झिए।
कार्यक्रममा ओलीले आफू स्पेनको औपचारिक भ्रमणमा जान लागेका कारण उपस्थित हुन नसक्ने बताउँदै फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने जानकारी दिए। “कर्णालीमा पुल बनेको छ, म फर्किएपछि त्यसको उद्घाटन गर्छु। त्यसपछि हुम्ला सदरमुकामसम्म मोटर पुग्नेछ, अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहने छैनन् — यो पनि जबजकै सफलता हो,” उनले भने।
त्यसैगरी उनले महाकाली सन्धीको पक्षमा एमाले अझै उभिएको बताउँदै सम्झौता कार्यान्वयन गरिने स्पष्ट पारे। “सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ, अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ,” ओलीले बताए।
प्रतिक्रिया