विराटनगर : जन्मकैदको सजाय सुनाइएका १ जना प्रतिवादी विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले उनलाई १७ वर्षपछि पक्राउ गरेको हो ।
विराटनगरमा भएको बीभत्स हत्याको घटनामा अदालतले दोषी ठहर गरेर जन्मकैदको सजाय सुनाएको भए पनि हालसम्म उनी पक्राउ परेका थिएनन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ घर भई विराटनगर–१६ मा बस्दै आएका अन्दाजी ३५ वर्षीय राजकुमार सहनी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
फरार रहेका कारण घटना भएको र अदालतले दोषी ठहर गरेको धेरै भइसक्दा पनि सहनी पक्राउ परेका थिएनन् ।
खोजी तीव्र पारेको प्रहरीले हत्यारा भारतमा लुकेर बसेका कारण पक्राउ गर्न सकिरहेको थिएन । डीएसपी चुँडालले १७ वर्षअघिको हत्याका अभियुक्तलाई बल्ल पक्राउ परेको जानकारी दिइन् ।
२०६५ साउन २६ गते विराटनगर–१५ का १७ वर्षीय शम्भुकुमार सहनीको हत्या भएको थियो ।
धारिलो हतियारले प्रहार गरेर हत्या गरेपछि २ टुक्रा पारेर विराटनगर–१६ स्थित नहरमा फालेको अवस्थामा २०६५ साउन २८ गते शम्भुको शव फेला परेको थियो । त्यतिबेला हत्या गरेपछि बोरामा पोको पारेर फालेको क्षतविक्षत अवस्थाको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ ।
हत्यामा राजकुमार सहनीलगायतको संलग्नता पुष्टि भएको थियो । ‘राजकुमारलगायतका व्यक्तिहरूले मृतक शम्भुलाई घरबाटै बोलाएर लगेका रहेछन् ।
बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा २ दिनपछि शव भेटिएको हो । हत्यामा संलग्नहरू लामो समयदेखि फरार थिए,’ प्रहरी स्रोतले भन्यो । हत्यामा संलग्नमध्ये राजकुमार बल्ल पक्राउ परेका हुन् ।
घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले २०७७ माघ २० गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतको फैसला अनुसार राजकुमारले २० वर्ष कैद बस्नुपर्ने हुन्छ । अदालतले दोषी ठहर गदै जन्मकैदको सजाय सुनाएको भए पनि उनी लामो समयदेखि भागिरहेका थिए । सजाय भुक्तान नगरीकन फरार बनेका राजकुमार अब भने प्रहरीको फन्दामा परेका छन् ।
डीएसपी चुँडालले राजकुमार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरिएको बताइन् ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको सई सुवास अधिकारीसहितको टोलीले शुक्रवार साँझ ६ बजेतिर उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि आइतबार जिल्ला अदालत मोरङमा बुझाउने तयारी गरेको छ । अदालतले कामतलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।
प्रतिक्रिया