दुर्घटनाले निम्त्याएको दुर्दशा : यसरी उजाडियो ओलीको संसार

शनिबार, १४ असार २०८२

सल्यान : एकल आमाको साहसिक यात्राले बाँच्न खोजेको आशा अब चकनाचुर भएको छ । सल्यानकी देवा ओलीका लागि जीवनले फेरि यस्तो मोड लियो, जहाँ पीडा मात्र बाँकी रह्यो । न सहयोगको हात छ । न त सहानुभूतिका शब्दहरू ।

सात वर्षअघि वैवाहिक सम्बन्धविच्छेदपछि उनी आफ्ना दुई नाबालक छोरासहित सल्यानमै एउटा कोठा भाडामा लिएर बसेकी थिइन् ।

काम गरेर पेट पाल्दै, बच्चाहरूलाई पढाउँदै उनी दिन काटिरहेकी थिइन् । त्यस बेलासम्म भविष्यप्रतिको सपना थियो, संघर्षप्रतिको ऊर्जा थियो । तर, अब उनी पूर्ण असक्त छिन् । शरीरले काम गर्दैन । आवाज कमजोर छ । आँखा आँसुले भरिएका छन् ।

गत महिना तुलसीपुर–सल्यान सडक खण्डको ‘सात तले’ भन्ने ठाउँ नजिकै बोलेरो दुर्घटना भयो ।

बोलेरो गाडीमा देवा ओली आफ्ना छोराहरू लिएर दाङ जाँदै थिइन् । त्यो यात्रा शिक्षाको उज्यालोको खोजी थियो । तर, नियतिको क्रूर मजाक बन्यो, दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भयो । देवा ओली गम्भीर घाइते भइन् । उनका दुई छोरा पनि गम्भीर घाइते भए । जसमध्ये एक अझै अचेत अवस्थामा छन् ।

दुर्घटनापछि अस्पताल र औषधिको खर्चले उनी आर्थिक रूपमा थला परेकी छन् । उपचारमा लागेको खर्च त एकातिर छ । अहिले उनको शरीर हिँड्न सक्ने अवस्थामा छैन । देवा ओलीलाई स्याहार गर्ने कोही छैनन् । ७२ वर्षीया वृद्ध आमा, जसका आफ्नै खुट्टा काँप्छन्, छोरीलाई काँधमा बोकेर अस्पताल धाउन बाध्य छन् ।

यो कुनै कल्पित कथा होइन,यो राज्यको मौन व्यवस्थापन र संवेदनाहीन समाजको जिउँदो उदाहरण हो । रातको दुई बजे घरबेटीले देवा ओलीको परिवारलाई कोठाबाट निकालिदिए । उनीहरूले सामान गेटबाहिर फालिदिए । देवाले आँखा भिजाउँदै सामान टिप्दै थिइन् । यस्तो अवस्था सायद कुनै चलचित्रमा देखिए पनि दर्शक रोलान् । तर,वास्तवमा त्यो सहरकै मुटुमा भइरहेको थियो ।

दाङ जानको लागि रिजर्भ गरिएको बोलेरोले त उनीहरूको जीवन बोक्न सकेन । त्यसको सट्टा दुर्घटनाले सबैभन्दा गहिरो चोट उनीहरूको आत्मामा दिएर छाड्यो । अहिले उनीहरू तुलसीपुर–बेलुवा क्षेत्रमा एउटा साँघुरो, चिसो,ढुसी लागेको कोठामा छन् । त्यो कोठामा न सुत्ने सिङ्गो ओछ्यान छ,न त पकाउने भाँडाकुँडा,८ दिनसम्म उनीहरूले पेटभरि खानेकुरा देखेनन् ।

मिडियामा केही समाचारहरू आए । सामाजिक सञ्जालमा केही मान्छेहरूले दावेलाई सम्झे । तर, ती खबरहरू पनि तुरुन्तै हराए । न त स्थानीय सरकार आयो । न त सङ्घीय सरकारका प्रतिनिधि । न कसैले उनको स्वास्थ्यको अवस्था सोध्यो,न त बच्चाहरूको उपचारको चिन्ता गर्‍यो ।

देवा ओलीको जीवनसँग जोडिएको यो हृदय विदारक विषय कुनै एक असहाय महिलाको कथा मात्र होइन । यो राज्य संरचनाले जिम्मेवारी बिर्सिएको,समाजले आँखा चिम्लिएको एउटा भयानक सत्य हो । यो एउटा यस्तो सचित्र प्रश्न हो, जहाँ प्रत्येक नागरिक, प्रशासन, र नेतृत्वकर्ता एक पटक आँखा खोलेर हेर्नुपर्नेछ,‘के देवा ओलीजस्तै पीडामा परेकी आमालाई बाँच्न पाउने अधिकार छैन ?’

देशले बोल्दैन भने हामी किन चुप छौँ ? 

देशको प्रशासन मौन भए पनि जनताको संवेदना बोल्नुपर्छ । देवा ओली आज हाम्रा आँखा अगाडि सहयोगको याचना गर्दै बाँच्न सङ्घर्ष गरिरहेकी छन् । तर, हामी कतै व्यस्त छौँ, आफ्नो सुरक्षामा, आफ्नो खुसीमा, आफ्नै सीमित संसारमा ।

देवा ओलीको कथा हिजो हामीसँग टाढा देखिन्थ्यो । तर,भोलि हाम्रै घरको ढोकामा पनि हुन सक्छ ।

समयमै चेतना नजागे,संवेदना नबोल्ने हो भने,यस्तो पीडाको सङ्ख्या गणना गर्न हामीसँग समय पनि बाँकी नहुन सक्छ । देवा ओलीको कथा केवल एक महिलाको पीडा होइन, त्यो त राज्य संरचनाको मौनता र हाम्रो सामूहिक संवेदन शून्यताको खरो प्रमाण हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार