इटहरी : सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा कान्छी चोक सडक खण्डमा शनिवार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना राति करिब ७ बजे कान्छी चोकबाट कालाबन्जारतर्फ गइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ज्यान गुमाउनेमा रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिश चौधरी र इनरुवा नगरपालिका–६ का ५० वर्षीय बिन्दु यादव रहेका छन्। घाइते अवस्था धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका उनीहरूलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।
दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा चौधरी र बिन्दु यादवसँग सवार इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरू हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
दुर्घटना स्थल इलाका प्रहरी कार्यालय पकलीबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ।
प्रतिक्रिया