झापा : नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताएका छन्।
नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा सहभागी हुँदै सिटौलाले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकोले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने खालका योजना ल्याउनुपर्नेमा जोड दिएका छन्।
सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको भन्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने बताएका छन्। किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्नेमा उनले जोड दिएका छन्।
कार्यक्रममा नेपाल किसान महासङ्घ झापाका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएकोलगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाएका थिए।
प्रतिक्रिया