विराटनगर । मोरङको उर्लाबारीबाट प्रहरीले २ जना भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महिला र पुरुष छन् ।
भारत बिहार किसनगन्जका मुनासिर अली र जन्हेरा खातुनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित उनीहरुलाई उर्लाबारी नगरपालिका–७ पूर्व बस स्टेण्डबाट पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल र लागुऔषध नियन्त्रण ब्युरो काँकड्भिट्टाबाट सई कुमार रोमेश लामिछाने नेतृत्वको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरेर खानतलासी गर्दा साथबाट लागुऔषध बरामद भएको थियो ।
पक्राउ गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएका उनीहरुको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी चुँडालले बताइन् । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुमाथि इन्स्पेक्टर रञ्जन बराल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया