सावित्रा भण्डारी साम्बाको कप्तानी डेब्यु स्वप्नजस्तै बन्यो। उनले ४ गोल गर्दै नेतृत्वको जिम्मेवारीलाई गोलवर्षामा परिणत गरेपछि नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित हात पारेको छ।
उज्बेकिस्तानको तास्केन्तमा आइतबार सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सुरुआतमा नै ३ अंक जोडेको हो। यही खेलमार्फत नेपाली महिला राष्ट्रिय टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल समेत पूरा गर्यो, जसले यो जितलाई थप ऐतिहासिक बनाएको छ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिकसहित ४ गोल गरिन्। त्यस्तै, अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले समान १–१ गोल गरे भने एक गोल नेपालले लाओसको आत्मघातमार्फत उपहार पाएको थियो।
नेपालले सुरुदेखि नै दबाब कायम राख्दै उत्कृष्ट पासिङ र समन्वयमा आधारित आक्रमण प्रस्तुत गरेको थियो।
प्रतिक्रिया