काठमाडौं : नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बैठकका मुख्य विषयवस्तु निर्धारण गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धन सरकारको वर्तमान अवस्था, सरकारमा रहेका मन्त्रीहरूको कामकारबाही, र भ्रातृ तथा शुभेच्छुक संस्थासम्बन्धी विषयमा विशेष छलफल हुने छ।
'केन्द्रीय कार्यसमितिमा केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारको कार्यप्रगति तथा उपलब्धिहरूको जानकारी दिनेछन्' प्रवक्ता महतले बताए।
बैठकमा क्रियाशील सदस्यता वितरणको अवस्थाबारे महामन्त्रीले प्रस्ट पार्ने तयारी पनि गरिएको छ। साथै, समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप्ने वा नगर्नेबारे निर्णय लिने विषय पनि एजेन्डामा रहेको महतले जानकारी दिए।
प्रतिक्रिया