क्यानकै ढिलाइले सिनामंगल डिपो स्थानान्तरणमा अवरोध, ६ अर्बको परियोजना अलपत्र

सोमबार, १६ असार २०८२

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल जोखिमपूर्ण ठाउँमा रहेकाले स्थानान्तरण गर्ने प्रक्रिया अघि बढे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कारण ढिलो हुने देखिएको छ। डिपो स्थानान्तरण गर्ने जग्गा हस्तान्तरण गर्न क्यानले आलटाल गरेको निगमले जनाएको छ।

अहिलेको डिपो जोखिमपूर्ण रहेको भन्दै मन्त्रिपरिषद् बैठकले गत वर्षको साउन २८ गते हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। डिपोमा भण्डारण क्षमता पाँच दिनका लागि मात्र रहेको, डिपो ५० वर्ष पुरानो, ट्याक्सी वेबाट नजिक भएकाले पनि सार्नु परेको निगमले जनाएको छ।

डिपो स्थानान्तरणको लागि विमानस्थल नजिकै गौचरस्थित नेपाली सेनाको गल्फ कोर्स क्षेत्रमा आवश्यक जग्गा प्राधिकरणद्वारा निगमलाई छुट्याइएको भए तापनि हालसम्म जग्गा प्राप्ति गरी खाली गर्न अवरोध देखिएको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए।

‘प्राधिकरणलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जग्गा सम्झौता गर्नका लागि अनुरोध गर्दै आएका छौं’, प्रमुख यादवले भने, ‘हालसम्म निगमको लागि तोकिएको जग्गाको चार किल्ला पूर्णरूपमा छुट्याइएको छैन।’

जग्गामा रहेका नेपाली सेनाका भवनहरू नहटाइएको, निगम र प्राधिकरणबीच प्रस्तावित जग्गाको स्वामित्व एवं जग्गा हस्तान्तरणको मोडालिटी नटुंगिएको प्रमुख यादवले बताए।

हवाई इन्धन प्रज्वलनशील पदार्थ भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्छ। सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखेर अत्याधुनिक प्रविधिको नयाँ डिपो निर्माण गर्ने निगमको योजना हो।

निगमले स्थानान्तरणको प्रक्रिया अघि बढाउन चार कोठे साइट अफिस निर्माण गरेको, साइटमा जाने बाटो तथा प्रवेशद्वार निर्माण गरेको जनाएको छ। निगमले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग सन् २०२४ नोभेम्बर २० मा ६ महिनाभित्र डिपिआर निर्माण सम्झौता गरेको थियो।

सम्झौता अनुसार आर्किटेक्चरल ड्रइङ ९५ प्रतिशत, स्ट्रक्चरल ड्रइङ ९० प्रतिशत, इलेक्ट्रिकल, स्यानिटरी र मेकानिकल ड्रइङ ९५ प्रतिशत, थ्री–डी डेभलपमेन्ट ८५ प्रतिशत सम्पन्न भएको निगमले जनाएको छ। त्यसैगरी एस्टिमेट ९० प्रतिशत, डिजाइन प्रतिवेदन ८५ प्रतिशत, साइट सर्भे तथा माटो परीक्षण सतप्रतिशत सम्पन्न भएको निगमले जनाएको छ।

 निगमले सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण परियोजना यथासम्भव तीव्र गतिमा अगाडि बढाउने गरी कार्य गरिरहेको प्रमुख यादवले बताए। ‘प्राधिकरणसँगको जग्गा प्राप्ति एवं सम्झौता प्रक्रिया तत्काल टुंग्याइएमा मात्र बाँकी कार्यहरू निगमबाट समयमै सम्पन्न गर्न सकिनेछ,’ यादवले भने।

क्यानले तयार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गुरु योजना तथा अन्तर्राष्ट्रिय परामर्शदाताको अध्ययन सुझाव अनुसार विमानस्थलबाट उत्तर पश्चिम गुुहेश्वरीतर्फ डिपो सार्न निगमले प्रक्रिया अघि बढाएको भए पनि अहिले क्यानले नै आलटाल गरिरहेको छ।

पाँच दशक पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर मात्र छ। यो डिपोमा एक हजार ६ सय किलोलिटरका तीन वटा, सात सय ६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका आठ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन्।

नयाँ निर्माण हुने डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्यांक निर्माण गर्ने योजना छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडान र एक सय ६० घरेलु उडान हुने गरेका छन्। दैनिक करिब पाँच लाखदेखि अधिकतम नौ लाख लिटरसम्म हवाई इन्धन बिक्री हुन्छ।

सन् २०१८ मा गरिएको अध्ययन अनुसार डिपो सार्न करिब ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान गरिएको थियो। विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि डिपोको जोखिमबारे सतहमा कुरा आएपछि मन्त्रिपरिषद्को बैठककले एक वर्षभित्र हवाइ इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न समेत निर्देशन दिएको थियो।

डिपोको एकातर्फ विमानस्थलको टयाक्सी वे र अर्कोतर्फ बस्ती नजिकै रहेको भन्दै विगतमा क्यानले नै डिपो सार्न आयल निगमलाई ताकेता गरेको भए पनि अहिले ढिलो गरिरहेको छ अहिलेको डिपो विमानस्थलको धावनमार्गबाट नजिक रहेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार नरहेको क्यानले जनाएको छ।

आइकाओले तोके अनुसार विमानस्थलको मापदण्ड पूरा हुन नसक्दा सेफ्टी अडिटको समयमा कमीकमजोरी औंल्याउने हुँदा अन्तर्राष्ट्रिय जगत्मा समेत विमानस्थलको र मुलुकको छवि राम्रो नहुने प्राधिकरणले बताउँदै आएको छ।

मुलुकमा हवाई इन्धनको माग हरेक वर्ष बढ्दै गएको छ। आयल निगमको इन्धन भण्डारणको सुरक्षा मापदण्ड सामान्य अभ्यासभन्दा फरक रहेको छ। सामान्यतया आपत्कालीन प्रयोगका लागि तीनदेखि पाँच दिन र नियमित माग अनुसार आपूर्ति गर्न पाँचदेखि सात दिनका लागि इन्धन भण्डारण गर्ने गरिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई सेवा दिनका लागि सिनामंगलमा सञ्चालित हवाई इन्धन डिपोमा भने करिब पाँच दिनलाई पुग्ने इन्धन मात्र भण्डारण गर्न सकिन्छ।

क्यानको गुरु योजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। सो ट्याक्सी वे निर्माण गर्दा अहिले सिनामंगलमा रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको छ। 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार