नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलामबाट विद्यालय सञ्चालक पक्राउ

सोमबार, १६ असार २०८२

इलाम । इलामको माई नगरपालिका–२ का ५२ वर्षीय खेमराज ढकाललाई नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ उनी आफ्नै घरबाट पक्राउ परेका हुन् ।

ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको विद्यालयकै एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनापछि स्थानीयवासीले दानाबारीस्थित लोदिया प्रहरी चौकी परिसरमा नाराबाजी गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । उनलाई आज जिल्ला प्रहरी कार्यालय इलाम ल्याउने तयारी प्रहरीले गरेको छ ।

ढकाल नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद्का सदस्य, बुद्धिजीवी परिषदका जिल्ला सदस्य, माई नगरपालिका–१३ का इलाका सचिव तथा माई नगरपालिका शिक्षा समितिका सदस्यसमेत हुन् । उनी हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक तथा शिक्षकसमेत रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार